साउन,०८ गते,मंगलबार ०७५।
नेपाली काङ्ग्रेस कास्की क्षेत्र नं ३ को क्षेत्रीय सदस्यमा लक्ष्मी प्रसाद पौडेल र ने.वि.संघ कास्की क्षेत्र नं ३ को क्षेत्रीय अध्यक्ष सुमित पराजुली मनोनित हुनु भएको छ। साउन ८ गते पोखरा लेखनाथ महा-नगरपालिका वडा नं २३ले ठुलाखेत भवनमा आयोजना गरेको `वर्तमान समस्य विकल्पको वाटो र प्रजातन्त्र स्फुर्त राख्न भावी राणनितिक योजनाको वारे समसामयिक वहस र अन्तरक्रियात्मक कार्यक्रममा´ नेपाली काङ्ग्रेस कास्किका सभापति कृष्ण के.सि ज्यु,नेपाल किसान संघ कास्कीका सभापति भेषराज पराजुली,कास्कि क्षेत्र नं ३ सभापति पोषनाथ शर्मा,वडा नं २३ निर्वाचित प्रतिनिधिहरु साथै वाडाका प्रजातान्त्रिक योद्धा अग्रज वुद्दिजिवीहरु उपस्थित उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस कास्की सभापति कृष्ण के.सि र क्षेत्रीय सभापति पोषनाथ शर्मा द्वार नव नियुक्त ने.वि.संघ सभापति सुमित पराजुली र नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य लक्ष्मी प्रसाद पौडेल लाई अविर र पुष्प गुच्छाको साथ वधाई दिदै स्वागत गर्नु भएको थियो। मनोनित दुवै जोस होस र सोचले भरिपूर्ण समाज रुपान्तरणका सम्भावक जुझारु युवा नेतृत्वकर्ताहरुमा सफल कार्यकालको साथै संगठनिक काम, कर्तव्य, अधिकार,मर्म, दायित्व र जिम्मेवारीलाई ध्यानमा राखी सुसंगठन गतिशीलताको लागी दिगो सफलताको सुभकामना व्यक्त गर्दछौ।
#जय_नेपाल !!!
Tuesday, July 24, 2018
कास्की काङ्ग्रेस क्षेत्रीय सदस्य र ने.वि.संघ क्षेत्रीय अध्यक्ष नियुक्त भएकोमा हार्दिक बधाई !!!
Friday, July 13, 2018
पुजिवादको चार ढोका !!!
मार्क्सवादी सिद्धान्तकार फ्रेडरिक जेम्सनले सन् १९९४ मा भनेका थिए, ‘पुँजीवादको अन्त्यको कल्पना गर्नुभन्दा संसारकै अन्त्यको कल्पना गर्नुचाहिँ सजिलो छ।’ जेम्सनले भन्न खोजेको कुरा के थियो भने पुँजीवादमाथि त्यसको वैकल्पिक अर्थव्यवस्थाले विजय हासिल गर्ने सम्भावना अत्यन्त कम थियो। पृथ्वीमै वातावरणीय प्रलय आउनुचाहिँ बढी सम्भव थियो। यो कठोर तर स्पष्ट दृष्टिकोणलाई द्विमासिक जर्नल ‘न्यु लेफ्ट रिभ्यु’ का पेरी एन्डरसन र सांस्कृतिक सिद्धान्तकार मार्क फिसरले पनि अपनाएका थिए, जसलाई ‘पुँजीवादी यथार्थवाद’ भनेर चिनिन्छ।
पछिल्ला वर्षमा विभिन्न लेखकले पुँजीवादको वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्दै आएका छन्। सन् २०१५ मा प्रकाशित पाउल मेसनको ‘पोस्ट क्यापिटलिज्म’ र निक सार्निचेक तथा एलेक्स विलियम्सको ‘इन्भेन्टिङ द फ्युचर’ दुवै पुस्तकले उस्तै विषय उठान गरेका छन्। उनीहरूका अनुसार प्रविधिको उन्नतिले धेरैजसो कामलाई अनावश्यक बनाइदिनेछ र मानिसलाई वास्तविक स्वतन्त्रताको खोजी तथा उपभोगका लागि मुक्त गरिदिनेछ। मानिसले आफ्नो जीविकाचाहिँ राज्यले प्रदान गर्ने सार्वभौमिक आधारभूत आयबाट चलाउने गर्छन्।
आरोन बस्तानीको आगामी पुस्तक ‘फुल्ली अटोमेटेड लक्जरी कम्युनिज्म’ पनि यही धारको हुनेछ। ‘अहिले भविष्यबोध नहुने हो भने के वास्तवमा इतिहासको सुरुवात नै भएको थिएन त ? ’ पुस्तकले प्रश्न गर्नेछ।
अमेरिकी मानवशास्त्री तथा कामविरोधी घोषणापत्र ‘बुलसिट जब्स’ (२०१८) का लेखक डेविड ग्रेवरसँग मैले अन्तर्वार्ता लिएको थिएँ। उनको तर्क थियो, ५० वर्षभित्र ‘निश्चय नै हामीसँग पुँजीवादभन्दा अलग व्यवस्था हुनेछ।’ तर उनले एउटा सर्त राखेका थिए, ‘त्यो व्यवस्था पुँजीवादभन्दा खराब व्यवस्था पनि हुन सक्छ।’
हालै ‘द फ्युचर स्टार्ट्स हेयर’ नामक प्रदर्शनीमा जाँदा मैले एउटा पुस्तक फेला पारें। त्यो पुस्तकले पनि कलात्मक रूपले पुँजीवादको विकल्पबारे चर्चा गर्दछ। ज्याकोबिन म्यागेजिनका एक सम्पादक पिटर फ्रेजले आफ्नो पुस्तक ‘फोर फ्युचर’ (२०१६) मा मुक्ति र शोषणको विकल्पमा वैकल्पिक दृष्टिकोणहरू प्रस्तुत गरेका छन्। अन्य लेखकजस्तै उनको अनुमान पनि प्रविधिले मानवीय श्रमलाई लुप्तप्रायः बनाइदिन्छ भन्ने छ। साथै उनले एउटा महत्वपूर्ण धारणा पनि राखेका छन्। ‘स्वचालनबाट कसलाई फाइदा हुन्छ, कसलाई नोक्सान पर्छ भन्ने निर्णय रोबोटले होइन, त्यसका मालिकले गर्नेछन्,’ उनी भन्छन्। वर्गीय असमानता र मानवीय अस्तित्वमै चुनौती दिने जलवायु परिवर्तन दुवै घटनाले एउटै संकेत गर्छन् : प्रविधिको विकासले हामीलाई युटोपियन समाजसम्म नपुर्याउन सक्छ। फ्रेजको पुस्तक भविष्यवाणी होइन, न त कल्पना नै हो। यो त ‘समाज वैज्ञानिक आख्यान’ हो। अर्थात् यो ‘भविष्यमा हाम्रो राजनीतिक संघर्ष चल्ने अनेकौं विविध सम्भावनायुक्त स्थान खोजी गर्ने’ प्रयास हो।
प्रविधिले हामीलाई काम गर्नुनपर्ने र अहिलेजस्तो कार्बन उत्सर्जन नहुने अवस्थामा पुर्याइसकेको हुनेछ। त्यस्तो समाजमा परम्परागत वर्ग विभाजन पनि समाप्त भइसकेको हुनेछ।
यस्ता सम्भावनामध्ये पहिलो परिदृश्य हो, साम्यवाद। अर्थात् यसमा समानता र हरेक वस्तुको प्रचुरता हुने गर्छ। प्रविधिले हामीलाई काम गर्न नपर्ने र अहिलेजस्तो कार्बन उत्सर्जन नहुने अवस्थामा पुर्याइसकेको हुनेछ। त्यस्तो समाजमा परम्परागत वर्ग विभाजन पनि समाप्त भइसकेको हुनेछ। तथापि पद तथा प्रतिष्ठाको श्रेणी विभाजन भने जारी रहन सक्ने फ्रेजले सचेत गराएका छन्। उनी सन् २००३ मा प्रकाशित कोरी डक्ट्रोको उपन्यास ‘डाउन एन्ड आउट इन द म्याजिक किङडम’ लाई उधृत गर्छन्। सो उपन्यासमा यस्तो स्थानको चर्चा गरिएको छ, ‘जहाँ सबैभन्दा धेरै पैसा भएकाले विवाद समाधान गर्दैनन्। बरु सबैभन्दा उच्च सामाजिक हैसियत प्राप्त गर्न सक्ने व्यक्ति निर्णायक बन्छन्।’ नागरिकलाई उनीहरूको व्यवहारअनुसार श्रेणीबद्ध गर्ने चीनको वर्तमान ‘सोसल क्रेडिट सिस्टम’ र पश्चिमको सामाजिक सञ्जालमा देखिएको लाइक र रिट्विटको अत्याचारी शासनले यही भविष्यको झल्को दिन्छ। यही जुन महिनामा मात्र करिब चार सय चिनियाँलाई ‘बेइमानी’ गरेको आधारमा विमान तथा रेल चढ्नबाट रोक लगाइएको छ।
दोस्रो परिदृश्य वर्तमान व्यवस्थाको सबैभन्दा निकट छ। त्यो हो, श्रेणी र प्रचुरता रहेको ‘भाडाप्रथा’। त्यस्तो व्यवस्थामा वस्तु उत्पादनको माध्यमबाट पुँजीको सञ्चय गरिँदैन बरु भाडा उठाएर चलाइन्छ। यस्तो व्यवस्थाको भौतिक अवस्था विलासी साम्यवादको जस्तै भए पनि नयाँ प्रविधि र प्याटेन्टमाथि सीमित सम्भ्रान्तको एकाधिकार कायम हुन्छ। ‘बहुमत मानिसमाथि केही शक्तिशाली मानिसको अधिकार कायम हुनाले’ त्यसबेलासम्म मानव श्रम रहिरहने फ्रेजको निष्कर्ष छ।
जलवायु परिवर्तन समाधानको सन्दर्भमा भाडाप्रथाको अनुमान गरिएको हो, तर जलवायु परिवर्तनको समस्या समाधान गर्न सकिएन र आजको जस्तै वातावरणको दोहन जारी रहे मानव जातिले दुईवटा सम्भावित भविष्यको सामना गनुपर्ने फ्रेजको आकलन छ। एउटा हो– समाजवाद। यस्ताखाले समाजवादमा समानता त हुन्छ, सँगसँगै अभाव पनि। त्यो अवस्थामा पारिस्थितिक प्रणाली बर्बाद भएको हुन्छ। त्यसैले राज्यले पूर्वाधारको पूरै कायापलट गर्नेछ। जोखिम र प्रतिफल दुवैको समान वितरण हुनेछ। श्रमको मात्रा अत्यन्त कम हुनेछ तर उपभोग पनि सीमित हुनेछ। विलासी साम्यवाद होइन दिगो समाजवादको मार्ग अपनाइनेछ।
दिगो समाजवाद नभएमा अर्को विकल्प हुनेछ बर्बर विनाशवाद। जहाँ श्रेणी र अभावको साम्राज्य चल्नेछ र अनावश्यक ठानिएकालाई समाप्त गर्ने उपाय खोजिन्छ। वातावरणीय प्रलयको सम्मुखमा उभिएको बेला धनाढ्य वर्ग स्रोत र साधनमाथि एकाधिकार कायम गर्न खोज्नेछ। त्यसैले मानवजातिको ठूलो हिस्सा सीमान्तकृत हुन पुग्नेछ। फ्रेजका अनुसार स्वचालित यन्त्रबाट उत्पादन हुन थालेपछि यसले ठूलो संख्यामा मानिसलाई बेरोजगार बनाउनेछ। सम्भ्रान्त शासकका आँखामा ती बेरोजगार मानिस फाल्तु हुनेछन्। तिनलाई बेवास्ता गर्नु वा जेल हाल्नुभन्दा सजिलै गरी किन सखाप नपारिदिने ? मानवताको इतिहास र वर्तमान दुवैलाई हेर्दा यस्तो सम्भावना नकार्न सकिन्न। मानवविहीन ड्रोन र ज्यानमारा रोबोट उपलब्ध हुनाले भविष्यमा गराइने नरसंहार अझ सहज हुनेछ। सम्भ्रान्त शासकले टाढै बसेर आम बेरोजगार मानिसको सफाया गराउन सक्नेछन्। कतिपयलाई त यसको आवश्यकता पनि पर्दैन।
यीमध्ये कुन भविष्य यथार्थमा परिणत हुने हो, त्यो अन्ततः मानवीय प्रवृत्तिमै निर्भर हुनेमा फ्रेजको जोड छ। सबै खालको नियतिवादलाई सुधार्ने गतिलो अवधारणा हो– ‘फोर फ्युचर’। परिस्थितिमाथि आफ्नो नियन्त्रण नभए पनि मानिसहरूले आफ्नो इतिहास बनाउने क्रमलाई निरन्तरता दिनेछन्।
– लेखक तथा पत्रकार इटन बेलायती म्यागेजिन 'न्यु स्टेट्सम्यान' का राजनीतिक सम्पादक हुन्। यो लेख न्यु स्टेट्सम्यानबाट अनुवाद गरिएको हो।
Thursday, July 12, 2018
झड्किलो पुजिवाद - प्रदिप गिरि।
विकासका नाममा धान्नै नसकिने ऋण लिएर ठुल्ठूला सडक, भीमकाय रेल्वे, हवाईजहाज र पानीजहाज चलाएर हामी झड्केलो पुँजीवादलाई भित्र्याउन सक्छौँ । तर, त्यो पुँजीवादले गरिबी रेखाको छेउछाउमा बाँचिरहेका मानिसलाई भने कुनै राहत दिन सक्दैन ।
नयाँ पत्रिकाको असार २१ को अंकमा झलक सुवेदीको एउटा विचारोत्तेजक लेख छापिएको छ । लेखको कुट–शीर्षक छ, ‘एउटा मृत पोखरी र छायादेवी ।’
लेखमा मुख्यतः नेपाल–संस्कृतिको प्रसंगलाई कोट्याइएको छ । कमलपोखरीको अतिक्रमणलाई केन्द्रमा राखेर संस्कृति–विमर्श गरिएको छ । नेपालमा रहेको सांस्कृतिक सम्पदा, विभेद, जीवनशैली र धरोहरलाई जोगाउनेतर्फ ध्यान आकृष्ट गरिएको छ । यसरी नेपालको मौलिकतालाई साँचेको खण्डमा पर्यटकको आकर्षण बढ्छ । त्यसले अन्ततः आर्थिक दृष्टिले रोजगारी र समृद्धिलाई समेत सहयोग पु-याउँछ । फेरि झलकजीको गुनासो छ, ‘तर नेपाली समाजले आफ्नो सांस्कृतिक मौलिकतालाई चिन्न सकेको छैन । माल पाएर चाल नपाएको जस्तो भएको छ । आजको नेपाल विद्युतीय रेल, मेट्रो चढ्ने सपना र कमलपोखरी मासेर नाफाखोरीका निमित्त मल्टी कम्प्लेक्स बनाउने होडमा व्यस्त–मस्त छन् । यो गलत हिँडाइ हो । हामी उल्टो बाटो हिँड्दै छौं । यसलाई रोकौँ ।’
झलक सुवेदीको निष्कर्ष सटिक छ । हामी निश्चय उल्टो बाटो हिँड्दै छौँ । तर, यस चेतावनीको एउटा कमजोर पक्ष छ । बढिसे बढी पैसा कमाउने लक्ष्य राख्ने नै हो भने तथाकथित आधुनिकीकरणको अन्धवेगलाई शिथिल मात्र पनि बनाउन सकिन्छ त ? तर, यो प्रश्न अहिले रहोस् ।
वर्तमान मनोदशा
कृष्णप्रसाद भट्टराई प्रजातान्त्रिक आन्दोलनको अग्रपंक्तिमा हुनुहुन्थ्यो । उहाँलाई कतिपयले ‘सन्तनेता’ पनि भन्थे । आमराजनीतिज्ञभन्दा उहाँको रहन–सहन सादगीपूर्ण थियो । त्यसैले उहाँले सन्तनेताको उपाधि प्राप्त गर्नुभएको थियो । उहाँको भोगविलासमा तमक–झमकको खास लालसा थिएन ।
तर पनि चुनाव लड्दा उहाँले भनेरै छोड्नुभयो, ‘म नेपाललाई सिंगापुर बनाइदिन्छु ।’ कृष्णप्रसाद भट्टराईले वर्षौं कारावासमा बसेर राष्ट्र चिन्तन अवश्य पनि गर्नुभएको थियो । तर, पनि नेपाललाई सिंगापुर बनाउन सकिन्छ कि सकिँदैन अथवा बनाउन उचित हुन्छ कि हुँदैन भन्नेतर्फ अध्ययन गर्न भ्याउनुभएको रहेनछ भन्नैपर्छ ।
व्यक्तिगत दृष्टिले मैले कृष्णप्रसाद भट्टराईलाई भन्दा बढी अर्को नेपालीलाई आदर गर्न सकेको छैन । तर, नेपाललाई सिंगापुर बनाउने सपना हास्यास्पद मात्र होइन, हानिकारकसमेत छ भन्ने आज पनि लागिरहेको छ ।
त्यसपछि गणतान्त्रिक नेपालमा माओवादीका अध्यक्ष प्रचण्डको उदय भयो । प्रचण्डलाई त अझ सिंगापुर भनेर पनि पुगेन । प्रचण्डले हाकाहाकी भन्नुभयो, ‘नेपाललाई म स्विट्जरल्यान्ड बनाउँछु ।’ अहिले आएर प्रधानमन्त्री केपी ओलीले किसुनजी र प्रचण्ड दुवैलाई उछिनेर नेपालको भविष्यको अत्यन्त रंगीन, रोचक र झकाझकको तस्बिर पेस गर्नुभएको छ । त्यस पृष्ठभूमिमा झलक सुवेदीको चेतावनी छ, ‘हामी उल्टो बाटो हिँड्दै छौँ, यसलाई रोकौँ ।’
तर यो यात्रा आज सुरु भएको होइन । यो बाटो ओली वा प्रचण्डले मात्र पनि रोजेको होइन । विश्वमा अहिले प्रचलित आधुनिकीकरणलाई सबैथरीका राष्ट्रिय राज्यले आफ्नो एक मात्र लक्ष्यका रूपमा लिएका छन् ।
उच्चबाट उच्चत्तर प्रविधिमा जाने, उच्चत्तर जीवनस्तर बढाउँदै लैजाने, धनीभन्दा धनी हुने र भौतिक सम्पदा मात्र एक मात्र धनको कसौटी हुने वर्तमान मनोदशा मानौँ निर्विकल्प छ । विश्वमा देखिएको यो दौड, यो होड र यो उन्मादबाट नेपाल अछुतो नरहनु आश्चर्यजनक छैन ।
पुँजीवादको उदयका साथ यो मनोदशा झन्–झन् बलियो भएको हो । सञ्चार क्रान्तिले यस मनोदशालाई मनोरोगको रूप दिन सफल भएको छ । होइन भने तथाकथित आधुनिक जीवनको लालसा पुँजीवादको जन्मका साथ भएको थियो ।
पुँजीवाद र समाजवाद
पुँजीवाद कहिले उदय भएको हो भन्नेबारे विद्वान्हरूको भिन्न मत छ । तर, ०१५ सालमा बिपी कोइरालाले जननिर्वाचित सरकार बनाउँदाताका पुँजीवाद एक विश्व व्यवस्थाको रूपमा प्रतिष्ठित भइसकेको थियो । तर, आधुनिकीकरणको यो अन्धवेग आइपुगेको थिएन ।
प्रधानमन्त्री बिपी कोइरालाले ०१५ सालमा गर्नुभएका र गर्न खोज्नुभएका काम अहिले पनि चर्चाको विषय बनेका छन् । तर, एउटा कुरा भन्नैपर्छ, तत्कालीन बिपी कोइरालाले मुलुकलाई ओली र प्रचण्डकै बाटोमा हिँड्न आँटेको देखेको भए कदाचित हस्तक्षेप गर्नु हुँदैनथ्यो । उहाँ पनि भन्नुहुन्थ्यो, ‘पुँजीवादले भौतिक सम्पन्नता ल्याउँछ । त्यसै सम्पन्नतामा टेकेर समाजवादले आर्थिक समस्या हल गर्छ ।’
बिपी कोइरालाले आफ्नो आखिरी वर्षमा भन्नुभएको थियो– फराकिलो र चिल्लो सडक, ठुल्ठूला उद्योग, विशाल एयरपोेर्ट खडा गरेर नेपालीलाई सुखी बनाउन सकिँदैन । हामीले नेपाललाई युरोप र अमेरिकाको विकासको मोडलमा लैजान सक्दैनौँ ।
भारतीय समाजवादी आन्दोलनका सिद्धान्तकार अशोक मेहता उहाँका निजी मित्र थिए । जवाहरलाल नेहरू उहाँको युगका आदर्श थिए । जवाहरलाल र अशोक मेहताले संयुक्त रूपमा भारतको विकासलाई पुँजीवादी बाटोमा लैजान आँटेका थिए । एउटा मान्यता थियो, पुँजीवाद परिपक्व नहुँदासम्म समाजवाद आउँदै–आउँदैन ।
अहिले ओली वा प्रचण्डले समाजवादको त्यही तस्बिर राखेका छन् । पहिले पुँजीवाद आओस्, रेल, हवाईजहाज, पानीजहाज आओस्, त्यसपछि समाजवाद आइहाल्छ नि भन्ने उहाँहरूले पनि सोचेको हुनुपर्छ । दुर्भाग्यवश यो उहाँहरूको सोच मात्र होइन ।
लगभग यस्तै सोचमा तेस्रो विश्वका अधिकांश मुलुक छन् । यस्ता सोचमा उत्साहित रहेका केही राष्ट्रिय राज्यहरू विदेशी ऋणको पञ्जामा परेर छट्पटाइरहेका छन्, यो अर्कै कुरो हो । यस प्रवृत्तिले देश र देशका बीचमा गरिबीको खाडल बढाइरहेको छ । मुलुकभित्र गरिब र धनीको विभेद झन्–झन् फराकिलो बनाएको छ । पर्यावरण संकटको कुरा गर्नैपरेन । धरती माता आफ्ना सन्तानलाई थेग्न, धान्न नसक्ने मोडमा पुगेकी छिन् ।
०१५ सालको बिपी कोइराला र आफ्नो आखिरी वर्षका बिपी कोइरालामा भने आकाश–जमिनको फरक देखिन्छ । बिपी कोइरालाले आफ्नो आखिरी वर्षमा भन्नुभएको थियो, ‘फराकिलो र चिल्लो सडक, ठुल्ठूला उद्योग, विशाल एयरपोेर्टहरू खडा गरेर नेपालीलाई सुखी बनाउन सकिँदैन ।
हामीले नेपाललाई युरोप र अमेरिकाको विकासको मोडलमा लैजान सक्दैनौँ ।’ बिपीले आफ्नो जीवनकालमा वैकल्पिक मोडलतर्फ औँल्याउनुसम्म त भयो । त्यस गन्तव्यमा पु-याउने उमेर, स्वास्थ्य र परिस्थितिले उहाँलाई साथ दिएन । बहुदलीय व्यवस्था पुनस्र्थापनापछि उहाँको नाम मन्त्रजप गर्ने कांग्रेसले उहाँको बाटोमा हिँड्न खोज्दै खोजेन ।
विकासको वर्तमान स्वरूप
बिपी कोइराला पेसेवर अर्थशास्त्री हुनुहुन्नथ्यो । उहाँलाई जननेताका रूपमा जनताको धुकधुकी थाहा थियो । जनताका पिरमर्कालाई ध्यानमा राखेर उहाँले कतिपय कुरा औँल्याउनुभयो । उहाँ स्पष्ट हुनुहुन्थ्यो– ‘पहिले गाउँका मानिसले रोजगार पाउनुपर्छ ।
एक कचौरा दूध खान पाउनुपर्छ । अनि गरे पनि भड्किलो विकासका कुरा गरौँला । जनता ठुल्ठूला एयरबस र चिल्ला गाडीमा चढ्दैनन् । पहिले उनीहरूको गाँस, वास र कपासको समस्या हल हुनुपर्छ । शिक्षा र स्वास्थ्य सर्वसुलभ हुनुपर्छ ।’
बिपीले यस्तो सोच प्रस्तुति गर्दा इ. एफ. सुमाखरको नाम लिनुभएको थियो । सुमाखरले एक अर्थशास्त्रीका रूपमा यी कुरा लेखेका थिए । खासमा यो विचारधाराको उदय त औतारी लामा (?) मोहनदास करमचन्द गान्धीले गर्न थालेका थिए ।
तर, मोहनदासको नाम लिनु पनि आवश्यक छैन । सुमाखरको पनि नाम लिने काम छैन । बिपी कोइरालालाई बिर्से पनि हुन्छ । तर, समकालीन विश्वमा एउटा वैकल्पिक सोच सुस्तरी अगाडि बढ्दै छ । विकासको वर्तमान स्वरूप आत्मघाती छ ।
विकासका नाममा धान्नै नसकिने ऋण लिएर ठुल्ठूला सडक, भीमकाय रेल्वे, हवाईजहाज र पानीजहाज चलाएर, ठुल्ठूला मल्टिकम्प्लेक्स बिल्डिङ बनाएर हामी झड्केलो पुँजीवादलाई भित्र्याउन सक्छौँ । तर, त्यस पुँजीवादले गरिबी रेखाको छेउछाउमा बाँचिरहेका मानिसलाई भने कुनै राहत दिन सक्दैन । रोजगार कम भएर जान्छ ।
मौलिक संस्कृति मासिन्छ । मानवीय जीवनमूल्य र विविधता नष्ट हुन्छ । कुनै राष्ट्रिय राज्यले समृद्धि दर बढेको तथ्यांक देखाउँदैमा जनता सम्पन्न छ भन्न सकिँदैन । सुखको त कुरै नगरौँ । झट्ट सुन्दा यो अर्थशास्त्रको गम्भीर विषय जस्तो लाग्छ । तर, यस विषयमा सार्थक विमर्श नहुनु समकालीन नेपालको दुर्भाग्य हो । झलक सुवेदीको लेखले त्यस विमर्शको आवश्यकताततर्फ संकेत गरेको छ ।
Thursday, July 5, 2018
ने.वि.संघ कास्किका नेता विस्वास तिमिल्सिना लाई जन्म दिनको सुभकामना !!!
"जन्मदिनको अशेष अशेष सुभकामना विस्वास जि।"
ने.वि.संघ कास्की नेता,ने.वि.संघ पृथ्वीनारायण क्याम्पसका पुर्व उप-सभापति नव अधिवक्ता सवैको प्रीय पात्र विस्वास तिमिल्सिनाको आज असार २२ गते परेको जन्मदिनको सुखद अवसरमा सु-स्वास्थ्य,दिर्घायु एवंम उत्तरोत्तर प्रगति साथै दिगो सफलताको अशेष अशेष सुभकामना व्यक्त गर्दछौँ ।
पुनश्च: जन्म दिनको सुभकामना विस्वास जि।😀