मार्क्सवादी सिद्धान्तकार फ्रेडरिक जेम्सनले सन् १९९४ मा भनेका थिए, ‘पुँजीवादको अन्त्यको कल्पना गर्नुभन्दा संसारकै अन्त्यको कल्पना गर्नुचाहिँ सजिलो छ।’ जेम्सनले भन्न खोजेको कुरा के थियो भने पुँजीवादमाथि त्यसको वैकल्पिक अर्थव्यवस्थाले विजय हासिल गर्ने सम्भावना अत्यन्त कम थियो। पृथ्वीमै वातावरणीय प्रलय आउनुचाहिँ बढी सम्भव थियो। यो कठोर तर स्पष्ट दृष्टिकोणलाई द्विमासिक जर्नल ‘न्यु लेफ्ट रिभ्यु’ का पेरी एन्डरसन र सांस्कृतिक सिद्धान्तकार मार्क फिसरले पनि अपनाएका थिए, जसलाई ‘पुँजीवादी यथार्थवाद’ भनेर चिनिन्छ।
पछिल्ला वर्षमा विभिन्न लेखकले पुँजीवादको वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्दै आएका छन्। सन् २०१५ मा प्रकाशित पाउल मेसनको ‘पोस्ट क्यापिटलिज्म’ र निक सार्निचेक तथा एलेक्स विलियम्सको ‘इन्भेन्टिङ द फ्युचर’ दुवै पुस्तकले उस्तै विषय उठान गरेका छन्। उनीहरूका अनुसार प्रविधिको उन्नतिले धेरैजसो कामलाई अनावश्यक बनाइदिनेछ र मानिसलाई वास्तविक स्वतन्त्रताको खोजी तथा उपभोगका लागि मुक्त गरिदिनेछ। मानिसले आफ्नो जीविकाचाहिँ राज्यले प्रदान गर्ने सार्वभौमिक आधारभूत आयबाट चलाउने गर्छन्।
आरोन बस्तानीको आगामी पुस्तक ‘फुल्ली अटोमेटेड लक्जरी कम्युनिज्म’ पनि यही धारको हुनेछ। ‘अहिले भविष्यबोध नहुने हो भने के वास्तवमा इतिहासको सुरुवात नै भएको थिएन त ? ’ पुस्तकले प्रश्न गर्नेछ।
अमेरिकी मानवशास्त्री तथा कामविरोधी घोषणापत्र ‘बुलसिट जब्स’ (२०१८) का लेखक डेविड ग्रेवरसँग मैले अन्तर्वार्ता लिएको थिएँ। उनको तर्क थियो, ५० वर्षभित्र ‘निश्चय नै हामीसँग पुँजीवादभन्दा अलग व्यवस्था हुनेछ।’ तर उनले एउटा सर्त राखेका थिए, ‘त्यो व्यवस्था पुँजीवादभन्दा खराब व्यवस्था पनि हुन सक्छ।’
हालै ‘द फ्युचर स्टार्ट्स हेयर’ नामक प्रदर्शनीमा जाँदा मैले एउटा पुस्तक फेला पारें। त्यो पुस्तकले पनि कलात्मक रूपले पुँजीवादको विकल्पबारे चर्चा गर्दछ। ज्याकोबिन म्यागेजिनका एक सम्पादक पिटर फ्रेजले आफ्नो पुस्तक ‘फोर फ्युचर’ (२०१६) मा मुक्ति र शोषणको विकल्पमा वैकल्पिक दृष्टिकोणहरू प्रस्तुत गरेका छन्। अन्य लेखकजस्तै उनको अनुमान पनि प्रविधिले मानवीय श्रमलाई लुप्तप्रायः बनाइदिन्छ भन्ने छ। साथै उनले एउटा महत्वपूर्ण धारणा पनि राखेका छन्। ‘स्वचालनबाट कसलाई फाइदा हुन्छ, कसलाई नोक्सान पर्छ भन्ने निर्णय रोबोटले होइन, त्यसका मालिकले गर्नेछन्,’ उनी भन्छन्। वर्गीय असमानता र मानवीय अस्तित्वमै चुनौती दिने जलवायु परिवर्तन दुवै घटनाले एउटै संकेत गर्छन् : प्रविधिको विकासले हामीलाई युटोपियन समाजसम्म नपुर्याउन सक्छ। फ्रेजको पुस्तक भविष्यवाणी होइन, न त कल्पना नै हो। यो त ‘समाज वैज्ञानिक आख्यान’ हो। अर्थात् यो ‘भविष्यमा हाम्रो राजनीतिक संघर्ष चल्ने अनेकौं विविध सम्भावनायुक्त स्थान खोजी गर्ने’ प्रयास हो।
प्रविधिले हामीलाई काम गर्नुनपर्ने र अहिलेजस्तो कार्बन उत्सर्जन नहुने अवस्थामा पुर्याइसकेको हुनेछ। त्यस्तो समाजमा परम्परागत वर्ग विभाजन पनि समाप्त भइसकेको हुनेछ।
यस्ता सम्भावनामध्ये पहिलो परिदृश्य हो, साम्यवाद। अर्थात् यसमा समानता र हरेक वस्तुको प्रचुरता हुने गर्छ। प्रविधिले हामीलाई काम गर्न नपर्ने र अहिलेजस्तो कार्बन उत्सर्जन नहुने अवस्थामा पुर्याइसकेको हुनेछ। त्यस्तो समाजमा परम्परागत वर्ग विभाजन पनि समाप्त भइसकेको हुनेछ। तथापि पद तथा प्रतिष्ठाको श्रेणी विभाजन भने जारी रहन सक्ने फ्रेजले सचेत गराएका छन्। उनी सन् २००३ मा प्रकाशित कोरी डक्ट्रोको उपन्यास ‘डाउन एन्ड आउट इन द म्याजिक किङडम’ लाई उधृत गर्छन्। सो उपन्यासमा यस्तो स्थानको चर्चा गरिएको छ, ‘जहाँ सबैभन्दा धेरै पैसा भएकाले विवाद समाधान गर्दैनन्। बरु सबैभन्दा उच्च सामाजिक हैसियत प्राप्त गर्न सक्ने व्यक्ति निर्णायक बन्छन्।’ नागरिकलाई उनीहरूको व्यवहारअनुसार श्रेणीबद्ध गर्ने चीनको वर्तमान ‘सोसल क्रेडिट सिस्टम’ र पश्चिमको सामाजिक सञ्जालमा देखिएको लाइक र रिट्विटको अत्याचारी शासनले यही भविष्यको झल्को दिन्छ। यही जुन महिनामा मात्र करिब चार सय चिनियाँलाई ‘बेइमानी’ गरेको आधारमा विमान तथा रेल चढ्नबाट रोक लगाइएको छ।
दोस्रो परिदृश्य वर्तमान व्यवस्थाको सबैभन्दा निकट छ। त्यो हो, श्रेणी र प्रचुरता रहेको ‘भाडाप्रथा’। त्यस्तो व्यवस्थामा वस्तु उत्पादनको माध्यमबाट पुँजीको सञ्चय गरिँदैन बरु भाडा उठाएर चलाइन्छ। यस्तो व्यवस्थाको भौतिक अवस्था विलासी साम्यवादको जस्तै भए पनि नयाँ प्रविधि र प्याटेन्टमाथि सीमित सम्भ्रान्तको एकाधिकार कायम हुन्छ। ‘बहुमत मानिसमाथि केही शक्तिशाली मानिसको अधिकार कायम हुनाले’ त्यसबेलासम्म मानव श्रम रहिरहने फ्रेजको निष्कर्ष छ।
जलवायु परिवर्तन समाधानको सन्दर्भमा भाडाप्रथाको अनुमान गरिएको हो, तर जलवायु परिवर्तनको समस्या समाधान गर्न सकिएन र आजको जस्तै वातावरणको दोहन जारी रहे मानव जातिले दुईवटा सम्भावित भविष्यको सामना गनुपर्ने फ्रेजको आकलन छ। एउटा हो– समाजवाद। यस्ताखाले समाजवादमा समानता त हुन्छ, सँगसँगै अभाव पनि। त्यो अवस्थामा पारिस्थितिक प्रणाली बर्बाद भएको हुन्छ। त्यसैले राज्यले पूर्वाधारको पूरै कायापलट गर्नेछ। जोखिम र प्रतिफल दुवैको समान वितरण हुनेछ। श्रमको मात्रा अत्यन्त कम हुनेछ तर उपभोग पनि सीमित हुनेछ। विलासी साम्यवाद होइन दिगो समाजवादको मार्ग अपनाइनेछ।
दिगो समाजवाद नभएमा अर्को विकल्प हुनेछ बर्बर विनाशवाद। जहाँ श्रेणी र अभावको साम्राज्य चल्नेछ र अनावश्यक ठानिएकालाई समाप्त गर्ने उपाय खोजिन्छ। वातावरणीय प्रलयको सम्मुखमा उभिएको बेला धनाढ्य वर्ग स्रोत र साधनमाथि एकाधिकार कायम गर्न खोज्नेछ। त्यसैले मानवजातिको ठूलो हिस्सा सीमान्तकृत हुन पुग्नेछ। फ्रेजका अनुसार स्वचालित यन्त्रबाट उत्पादन हुन थालेपछि यसले ठूलो संख्यामा मानिसलाई बेरोजगार बनाउनेछ। सम्भ्रान्त शासकका आँखामा ती बेरोजगार मानिस फाल्तु हुनेछन्। तिनलाई बेवास्ता गर्नु वा जेल हाल्नुभन्दा सजिलै गरी किन सखाप नपारिदिने ? मानवताको इतिहास र वर्तमान दुवैलाई हेर्दा यस्तो सम्भावना नकार्न सकिन्न। मानवविहीन ड्रोन र ज्यानमारा रोबोट उपलब्ध हुनाले भविष्यमा गराइने नरसंहार अझ सहज हुनेछ। सम्भ्रान्त शासकले टाढै बसेर आम बेरोजगार मानिसको सफाया गराउन सक्नेछन्। कतिपयलाई त यसको आवश्यकता पनि पर्दैन।
यीमध्ये कुन भविष्य यथार्थमा परिणत हुने हो, त्यो अन्ततः मानवीय प्रवृत्तिमै निर्भर हुनेमा फ्रेजको जोड छ। सबै खालको नियतिवादलाई सुधार्ने गतिलो अवधारणा हो– ‘फोर फ्युचर’। परिस्थितिमाथि आफ्नो नियन्त्रण नभए पनि मानिसहरूले आफ्नो इतिहास बनाउने क्रमलाई निरन्तरता दिनेछन्।
– लेखक तथा पत्रकार इटन बेलायती म्यागेजिन 'न्यु स्टेट्सम्यान' का राजनीतिक सम्पादक हुन्। यो लेख न्यु स्टेट्सम्यानबाट अनुवाद गरिएको हो।
No comments:
Post a Comment