साउन,०८ गते,मंगलबार ०७५।
नेपाली काङ्ग्रेस कास्की क्षेत्र नं ३ को क्षेत्रीय सदस्यमा लक्ष्मी प्रसाद पौडेल र ने.वि.संघ कास्की क्षेत्र नं ३ को क्षेत्रीय अध्यक्ष सुमित पराजुली मनोनित हुनु भएको छ। साउन ८ गते पोखरा लेखनाथ महा-नगरपालिका वडा नं २३ले ठुलाखेत भवनमा आयोजना गरेको `वर्तमान समस्य विकल्पको वाटो र प्रजातन्त्र स्फुर्त राख्न भावी राणनितिक योजनाको वारे समसामयिक वहस र अन्तरक्रियात्मक कार्यक्रममा´ नेपाली काङ्ग्रेस कास्किका सभापति कृष्ण के.सि ज्यु,नेपाल किसान संघ कास्कीका सभापति भेषराज पराजुली,कास्कि क्षेत्र नं ३ सभापति पोषनाथ शर्मा,वडा नं २३ निर्वाचित प्रतिनिधिहरु साथै वाडाका प्रजातान्त्रिक योद्धा अग्रज वुद्दिजिवीहरु उपस्थित उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस कास्की सभापति कृष्ण के.सि र क्षेत्रीय सभापति पोषनाथ शर्मा द्वार नव नियुक्त ने.वि.संघ सभापति सुमित पराजुली र नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य लक्ष्मी प्रसाद पौडेल लाई अविर र पुष्प गुच्छाको साथ वधाई दिदै स्वागत गर्नु भएको थियो। मनोनित दुवै जोस होस र सोचले भरिपूर्ण समाज रुपान्तरणका सम्भावक जुझारु युवा नेतृत्वकर्ताहरुमा सफल कार्यकालको साथै संगठनिक काम, कर्तव्य, अधिकार,मर्म, दायित्व र जिम्मेवारीलाई ध्यानमा राखी सुसंगठन गतिशीलताको लागी दिगो सफलताको सुभकामना व्यक्त गर्दछौ।
#जय_नेपाल !!!
Tuesday, July 24, 2018
कास्की काङ्ग्रेस क्षेत्रीय सदस्य र ने.वि.संघ क्षेत्रीय अध्यक्ष नियुक्त भएकोमा हार्दिक बधाई !!!
Friday, July 13, 2018
पुजिवादको चार ढोका !!!
मार्क्सवादी सिद्धान्तकार फ्रेडरिक जेम्सनले सन् १९९४ मा भनेका थिए, ‘पुँजीवादको अन्त्यको कल्पना गर्नुभन्दा संसारकै अन्त्यको कल्पना गर्नुचाहिँ सजिलो छ।’ जेम्सनले भन्न खोजेको कुरा के थियो भने पुँजीवादमाथि त्यसको वैकल्पिक अर्थव्यवस्थाले विजय हासिल गर्ने सम्भावना अत्यन्त कम थियो। पृथ्वीमै वातावरणीय प्रलय आउनुचाहिँ बढी सम्भव थियो। यो कठोर तर स्पष्ट दृष्टिकोणलाई द्विमासिक जर्नल ‘न्यु लेफ्ट रिभ्यु’ का पेरी एन्डरसन र सांस्कृतिक सिद्धान्तकार मार्क फिसरले पनि अपनाएका थिए, जसलाई ‘पुँजीवादी यथार्थवाद’ भनेर चिनिन्छ।
पछिल्ला वर्षमा विभिन्न लेखकले पुँजीवादको वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्दै आएका छन्। सन् २०१५ मा प्रकाशित पाउल मेसनको ‘पोस्ट क्यापिटलिज्म’ र निक सार्निचेक तथा एलेक्स विलियम्सको ‘इन्भेन्टिङ द फ्युचर’ दुवै पुस्तकले उस्तै विषय उठान गरेका छन्। उनीहरूका अनुसार प्रविधिको उन्नतिले धेरैजसो कामलाई अनावश्यक बनाइदिनेछ र मानिसलाई वास्तविक स्वतन्त्रताको खोजी तथा उपभोगका लागि मुक्त गरिदिनेछ। मानिसले आफ्नो जीविकाचाहिँ राज्यले प्रदान गर्ने सार्वभौमिक आधारभूत आयबाट चलाउने गर्छन्।
आरोन बस्तानीको आगामी पुस्तक ‘फुल्ली अटोमेटेड लक्जरी कम्युनिज्म’ पनि यही धारको हुनेछ। ‘अहिले भविष्यबोध नहुने हो भने के वास्तवमा इतिहासको सुरुवात नै भएको थिएन त ? ’ पुस्तकले प्रश्न गर्नेछ।
अमेरिकी मानवशास्त्री तथा कामविरोधी घोषणापत्र ‘बुलसिट जब्स’ (२०१८) का लेखक डेविड ग्रेवरसँग मैले अन्तर्वार्ता लिएको थिएँ। उनको तर्क थियो, ५० वर्षभित्र ‘निश्चय नै हामीसँग पुँजीवादभन्दा अलग व्यवस्था हुनेछ।’ तर उनले एउटा सर्त राखेका थिए, ‘त्यो व्यवस्था पुँजीवादभन्दा खराब व्यवस्था पनि हुन सक्छ।’
हालै ‘द फ्युचर स्टार्ट्स हेयर’ नामक प्रदर्शनीमा जाँदा मैले एउटा पुस्तक फेला पारें। त्यो पुस्तकले पनि कलात्मक रूपले पुँजीवादको विकल्पबारे चर्चा गर्दछ। ज्याकोबिन म्यागेजिनका एक सम्पादक पिटर फ्रेजले आफ्नो पुस्तक ‘फोर फ्युचर’ (२०१६) मा मुक्ति र शोषणको विकल्पमा वैकल्पिक दृष्टिकोणहरू प्रस्तुत गरेका छन्। अन्य लेखकजस्तै उनको अनुमान पनि प्रविधिले मानवीय श्रमलाई लुप्तप्रायः बनाइदिन्छ भन्ने छ। साथै उनले एउटा महत्वपूर्ण धारणा पनि राखेका छन्। ‘स्वचालनबाट कसलाई फाइदा हुन्छ, कसलाई नोक्सान पर्छ भन्ने निर्णय रोबोटले होइन, त्यसका मालिकले गर्नेछन्,’ उनी भन्छन्। वर्गीय असमानता र मानवीय अस्तित्वमै चुनौती दिने जलवायु परिवर्तन दुवै घटनाले एउटै संकेत गर्छन् : प्रविधिको विकासले हामीलाई युटोपियन समाजसम्म नपुर्याउन सक्छ। फ्रेजको पुस्तक भविष्यवाणी होइन, न त कल्पना नै हो। यो त ‘समाज वैज्ञानिक आख्यान’ हो। अर्थात् यो ‘भविष्यमा हाम्रो राजनीतिक संघर्ष चल्ने अनेकौं विविध सम्भावनायुक्त स्थान खोजी गर्ने’ प्रयास हो।
प्रविधिले हामीलाई काम गर्नुनपर्ने र अहिलेजस्तो कार्बन उत्सर्जन नहुने अवस्थामा पुर्याइसकेको हुनेछ। त्यस्तो समाजमा परम्परागत वर्ग विभाजन पनि समाप्त भइसकेको हुनेछ।
यस्ता सम्भावनामध्ये पहिलो परिदृश्य हो, साम्यवाद। अर्थात् यसमा समानता र हरेक वस्तुको प्रचुरता हुने गर्छ। प्रविधिले हामीलाई काम गर्न नपर्ने र अहिलेजस्तो कार्बन उत्सर्जन नहुने अवस्थामा पुर्याइसकेको हुनेछ। त्यस्तो समाजमा परम्परागत वर्ग विभाजन पनि समाप्त भइसकेको हुनेछ। तथापि पद तथा प्रतिष्ठाको श्रेणी विभाजन भने जारी रहन सक्ने फ्रेजले सचेत गराएका छन्। उनी सन् २००३ मा प्रकाशित कोरी डक्ट्रोको उपन्यास ‘डाउन एन्ड आउट इन द म्याजिक किङडम’ लाई उधृत गर्छन्। सो उपन्यासमा यस्तो स्थानको चर्चा गरिएको छ, ‘जहाँ सबैभन्दा धेरै पैसा भएकाले विवाद समाधान गर्दैनन्। बरु सबैभन्दा उच्च सामाजिक हैसियत प्राप्त गर्न सक्ने व्यक्ति निर्णायक बन्छन्।’ नागरिकलाई उनीहरूको व्यवहारअनुसार श्रेणीबद्ध गर्ने चीनको वर्तमान ‘सोसल क्रेडिट सिस्टम’ र पश्चिमको सामाजिक सञ्जालमा देखिएको लाइक र रिट्विटको अत्याचारी शासनले यही भविष्यको झल्को दिन्छ। यही जुन महिनामा मात्र करिब चार सय चिनियाँलाई ‘बेइमानी’ गरेको आधारमा विमान तथा रेल चढ्नबाट रोक लगाइएको छ।
दोस्रो परिदृश्य वर्तमान व्यवस्थाको सबैभन्दा निकट छ। त्यो हो, श्रेणी र प्रचुरता रहेको ‘भाडाप्रथा’। त्यस्तो व्यवस्थामा वस्तु उत्पादनको माध्यमबाट पुँजीको सञ्चय गरिँदैन बरु भाडा उठाएर चलाइन्छ। यस्तो व्यवस्थाको भौतिक अवस्था विलासी साम्यवादको जस्तै भए पनि नयाँ प्रविधि र प्याटेन्टमाथि सीमित सम्भ्रान्तको एकाधिकार कायम हुन्छ। ‘बहुमत मानिसमाथि केही शक्तिशाली मानिसको अधिकार कायम हुनाले’ त्यसबेलासम्म मानव श्रम रहिरहने फ्रेजको निष्कर्ष छ।
जलवायु परिवर्तन समाधानको सन्दर्भमा भाडाप्रथाको अनुमान गरिएको हो, तर जलवायु परिवर्तनको समस्या समाधान गर्न सकिएन र आजको जस्तै वातावरणको दोहन जारी रहे मानव जातिले दुईवटा सम्भावित भविष्यको सामना गनुपर्ने फ्रेजको आकलन छ। एउटा हो– समाजवाद। यस्ताखाले समाजवादमा समानता त हुन्छ, सँगसँगै अभाव पनि। त्यो अवस्थामा पारिस्थितिक प्रणाली बर्बाद भएको हुन्छ। त्यसैले राज्यले पूर्वाधारको पूरै कायापलट गर्नेछ। जोखिम र प्रतिफल दुवैको समान वितरण हुनेछ। श्रमको मात्रा अत्यन्त कम हुनेछ तर उपभोग पनि सीमित हुनेछ। विलासी साम्यवाद होइन दिगो समाजवादको मार्ग अपनाइनेछ।
दिगो समाजवाद नभएमा अर्को विकल्प हुनेछ बर्बर विनाशवाद। जहाँ श्रेणी र अभावको साम्राज्य चल्नेछ र अनावश्यक ठानिएकालाई समाप्त गर्ने उपाय खोजिन्छ। वातावरणीय प्रलयको सम्मुखमा उभिएको बेला धनाढ्य वर्ग स्रोत र साधनमाथि एकाधिकार कायम गर्न खोज्नेछ। त्यसैले मानवजातिको ठूलो हिस्सा सीमान्तकृत हुन पुग्नेछ। फ्रेजका अनुसार स्वचालित यन्त्रबाट उत्पादन हुन थालेपछि यसले ठूलो संख्यामा मानिसलाई बेरोजगार बनाउनेछ। सम्भ्रान्त शासकका आँखामा ती बेरोजगार मानिस फाल्तु हुनेछन्। तिनलाई बेवास्ता गर्नु वा जेल हाल्नुभन्दा सजिलै गरी किन सखाप नपारिदिने ? मानवताको इतिहास र वर्तमान दुवैलाई हेर्दा यस्तो सम्भावना नकार्न सकिन्न। मानवविहीन ड्रोन र ज्यानमारा रोबोट उपलब्ध हुनाले भविष्यमा गराइने नरसंहार अझ सहज हुनेछ। सम्भ्रान्त शासकले टाढै बसेर आम बेरोजगार मानिसको सफाया गराउन सक्नेछन्। कतिपयलाई त यसको आवश्यकता पनि पर्दैन।
यीमध्ये कुन भविष्य यथार्थमा परिणत हुने हो, त्यो अन्ततः मानवीय प्रवृत्तिमै निर्भर हुनेमा फ्रेजको जोड छ। सबै खालको नियतिवादलाई सुधार्ने गतिलो अवधारणा हो– ‘फोर फ्युचर’। परिस्थितिमाथि आफ्नो नियन्त्रण नभए पनि मानिसहरूले आफ्नो इतिहास बनाउने क्रमलाई निरन्तरता दिनेछन्।
– लेखक तथा पत्रकार इटन बेलायती म्यागेजिन 'न्यु स्टेट्सम्यान' का राजनीतिक सम्पादक हुन्। यो लेख न्यु स्टेट्सम्यानबाट अनुवाद गरिएको हो।
Thursday, July 12, 2018
झड्किलो पुजिवाद - प्रदिप गिरि।
विकासका नाममा धान्नै नसकिने ऋण लिएर ठुल्ठूला सडक, भीमकाय रेल्वे, हवाईजहाज र पानीजहाज चलाएर हामी झड्केलो पुँजीवादलाई भित्र्याउन सक्छौँ । तर, त्यो पुँजीवादले गरिबी रेखाको छेउछाउमा बाँचिरहेका मानिसलाई भने कुनै राहत दिन सक्दैन ।
नयाँ पत्रिकाको असार २१ को अंकमा झलक सुवेदीको एउटा विचारोत्तेजक लेख छापिएको छ । लेखको कुट–शीर्षक छ, ‘एउटा मृत पोखरी र छायादेवी ।’
लेखमा मुख्यतः नेपाल–संस्कृतिको प्रसंगलाई कोट्याइएको छ । कमलपोखरीको अतिक्रमणलाई केन्द्रमा राखेर संस्कृति–विमर्श गरिएको छ । नेपालमा रहेको सांस्कृतिक सम्पदा, विभेद, जीवनशैली र धरोहरलाई जोगाउनेतर्फ ध्यान आकृष्ट गरिएको छ । यसरी नेपालको मौलिकतालाई साँचेको खण्डमा पर्यटकको आकर्षण बढ्छ । त्यसले अन्ततः आर्थिक दृष्टिले रोजगारी र समृद्धिलाई समेत सहयोग पु-याउँछ । फेरि झलकजीको गुनासो छ, ‘तर नेपाली समाजले आफ्नो सांस्कृतिक मौलिकतालाई चिन्न सकेको छैन । माल पाएर चाल नपाएको जस्तो भएको छ । आजको नेपाल विद्युतीय रेल, मेट्रो चढ्ने सपना र कमलपोखरी मासेर नाफाखोरीका निमित्त मल्टी कम्प्लेक्स बनाउने होडमा व्यस्त–मस्त छन् । यो गलत हिँडाइ हो । हामी उल्टो बाटो हिँड्दै छौं । यसलाई रोकौँ ।’
झलक सुवेदीको निष्कर्ष सटिक छ । हामी निश्चय उल्टो बाटो हिँड्दै छौँ । तर, यस चेतावनीको एउटा कमजोर पक्ष छ । बढिसे बढी पैसा कमाउने लक्ष्य राख्ने नै हो भने तथाकथित आधुनिकीकरणको अन्धवेगलाई शिथिल मात्र पनि बनाउन सकिन्छ त ? तर, यो प्रश्न अहिले रहोस् ।
वर्तमान मनोदशा
कृष्णप्रसाद भट्टराई प्रजातान्त्रिक आन्दोलनको अग्रपंक्तिमा हुनुहुन्थ्यो । उहाँलाई कतिपयले ‘सन्तनेता’ पनि भन्थे । आमराजनीतिज्ञभन्दा उहाँको रहन–सहन सादगीपूर्ण थियो । त्यसैले उहाँले सन्तनेताको उपाधि प्राप्त गर्नुभएको थियो । उहाँको भोगविलासमा तमक–झमकको खास लालसा थिएन ।
तर पनि चुनाव लड्दा उहाँले भनेरै छोड्नुभयो, ‘म नेपाललाई सिंगापुर बनाइदिन्छु ।’ कृष्णप्रसाद भट्टराईले वर्षौं कारावासमा बसेर राष्ट्र चिन्तन अवश्य पनि गर्नुभएको थियो । तर, पनि नेपाललाई सिंगापुर बनाउन सकिन्छ कि सकिँदैन अथवा बनाउन उचित हुन्छ कि हुँदैन भन्नेतर्फ अध्ययन गर्न भ्याउनुभएको रहेनछ भन्नैपर्छ ।
व्यक्तिगत दृष्टिले मैले कृष्णप्रसाद भट्टराईलाई भन्दा बढी अर्को नेपालीलाई आदर गर्न सकेको छैन । तर, नेपाललाई सिंगापुर बनाउने सपना हास्यास्पद मात्र होइन, हानिकारकसमेत छ भन्ने आज पनि लागिरहेको छ ।
त्यसपछि गणतान्त्रिक नेपालमा माओवादीका अध्यक्ष प्रचण्डको उदय भयो । प्रचण्डलाई त अझ सिंगापुर भनेर पनि पुगेन । प्रचण्डले हाकाहाकी भन्नुभयो, ‘नेपाललाई म स्विट्जरल्यान्ड बनाउँछु ।’ अहिले आएर प्रधानमन्त्री केपी ओलीले किसुनजी र प्रचण्ड दुवैलाई उछिनेर नेपालको भविष्यको अत्यन्त रंगीन, रोचक र झकाझकको तस्बिर पेस गर्नुभएको छ । त्यस पृष्ठभूमिमा झलक सुवेदीको चेतावनी छ, ‘हामी उल्टो बाटो हिँड्दै छौँ, यसलाई रोकौँ ।’
तर यो यात्रा आज सुरु भएको होइन । यो बाटो ओली वा प्रचण्डले मात्र पनि रोजेको होइन । विश्वमा अहिले प्रचलित आधुनिकीकरणलाई सबैथरीका राष्ट्रिय राज्यले आफ्नो एक मात्र लक्ष्यका रूपमा लिएका छन् ।
उच्चबाट उच्चत्तर प्रविधिमा जाने, उच्चत्तर जीवनस्तर बढाउँदै लैजाने, धनीभन्दा धनी हुने र भौतिक सम्पदा मात्र एक मात्र धनको कसौटी हुने वर्तमान मनोदशा मानौँ निर्विकल्प छ । विश्वमा देखिएको यो दौड, यो होड र यो उन्मादबाट नेपाल अछुतो नरहनु आश्चर्यजनक छैन ।
पुँजीवादको उदयका साथ यो मनोदशा झन्–झन् बलियो भएको हो । सञ्चार क्रान्तिले यस मनोदशालाई मनोरोगको रूप दिन सफल भएको छ । होइन भने तथाकथित आधुनिक जीवनको लालसा पुँजीवादको जन्मका साथ भएको थियो ।
पुँजीवाद र समाजवाद
पुँजीवाद कहिले उदय भएको हो भन्नेबारे विद्वान्हरूको भिन्न मत छ । तर, ०१५ सालमा बिपी कोइरालाले जननिर्वाचित सरकार बनाउँदाताका पुँजीवाद एक विश्व व्यवस्थाको रूपमा प्रतिष्ठित भइसकेको थियो । तर, आधुनिकीकरणको यो अन्धवेग आइपुगेको थिएन ।
प्रधानमन्त्री बिपी कोइरालाले ०१५ सालमा गर्नुभएका र गर्न खोज्नुभएका काम अहिले पनि चर्चाको विषय बनेका छन् । तर, एउटा कुरा भन्नैपर्छ, तत्कालीन बिपी कोइरालाले मुलुकलाई ओली र प्रचण्डकै बाटोमा हिँड्न आँटेको देखेको भए कदाचित हस्तक्षेप गर्नु हुँदैनथ्यो । उहाँ पनि भन्नुहुन्थ्यो, ‘पुँजीवादले भौतिक सम्पन्नता ल्याउँछ । त्यसै सम्पन्नतामा टेकेर समाजवादले आर्थिक समस्या हल गर्छ ।’
बिपी कोइरालाले आफ्नो आखिरी वर्षमा भन्नुभएको थियो– फराकिलो र चिल्लो सडक, ठुल्ठूला उद्योग, विशाल एयरपोेर्ट खडा गरेर नेपालीलाई सुखी बनाउन सकिँदैन । हामीले नेपाललाई युरोप र अमेरिकाको विकासको मोडलमा लैजान सक्दैनौँ ।
भारतीय समाजवादी आन्दोलनका सिद्धान्तकार अशोक मेहता उहाँका निजी मित्र थिए । जवाहरलाल नेहरू उहाँको युगका आदर्श थिए । जवाहरलाल र अशोक मेहताले संयुक्त रूपमा भारतको विकासलाई पुँजीवादी बाटोमा लैजान आँटेका थिए । एउटा मान्यता थियो, पुँजीवाद परिपक्व नहुँदासम्म समाजवाद आउँदै–आउँदैन ।
अहिले ओली वा प्रचण्डले समाजवादको त्यही तस्बिर राखेका छन् । पहिले पुँजीवाद आओस्, रेल, हवाईजहाज, पानीजहाज आओस्, त्यसपछि समाजवाद आइहाल्छ नि भन्ने उहाँहरूले पनि सोचेको हुनुपर्छ । दुर्भाग्यवश यो उहाँहरूको सोच मात्र होइन ।
लगभग यस्तै सोचमा तेस्रो विश्वका अधिकांश मुलुक छन् । यस्ता सोचमा उत्साहित रहेका केही राष्ट्रिय राज्यहरू विदेशी ऋणको पञ्जामा परेर छट्पटाइरहेका छन्, यो अर्कै कुरो हो । यस प्रवृत्तिले देश र देशका बीचमा गरिबीको खाडल बढाइरहेको छ । मुलुकभित्र गरिब र धनीको विभेद झन्–झन् फराकिलो बनाएको छ । पर्यावरण संकटको कुरा गर्नैपरेन । धरती माता आफ्ना सन्तानलाई थेग्न, धान्न नसक्ने मोडमा पुगेकी छिन् ।
०१५ सालको बिपी कोइराला र आफ्नो आखिरी वर्षका बिपी कोइरालामा भने आकाश–जमिनको फरक देखिन्छ । बिपी कोइरालाले आफ्नो आखिरी वर्षमा भन्नुभएको थियो, ‘फराकिलो र चिल्लो सडक, ठुल्ठूला उद्योग, विशाल एयरपोेर्टहरू खडा गरेर नेपालीलाई सुखी बनाउन सकिँदैन ।
हामीले नेपाललाई युरोप र अमेरिकाको विकासको मोडलमा लैजान सक्दैनौँ ।’ बिपीले आफ्नो जीवनकालमा वैकल्पिक मोडलतर्फ औँल्याउनुसम्म त भयो । त्यस गन्तव्यमा पु-याउने उमेर, स्वास्थ्य र परिस्थितिले उहाँलाई साथ दिएन । बहुदलीय व्यवस्था पुनस्र्थापनापछि उहाँको नाम मन्त्रजप गर्ने कांग्रेसले उहाँको बाटोमा हिँड्न खोज्दै खोजेन ।
विकासको वर्तमान स्वरूप
बिपी कोइराला पेसेवर अर्थशास्त्री हुनुहुन्नथ्यो । उहाँलाई जननेताका रूपमा जनताको धुकधुकी थाहा थियो । जनताका पिरमर्कालाई ध्यानमा राखेर उहाँले कतिपय कुरा औँल्याउनुभयो । उहाँ स्पष्ट हुनुहुन्थ्यो– ‘पहिले गाउँका मानिसले रोजगार पाउनुपर्छ ।
एक कचौरा दूध खान पाउनुपर्छ । अनि गरे पनि भड्किलो विकासका कुरा गरौँला । जनता ठुल्ठूला एयरबस र चिल्ला गाडीमा चढ्दैनन् । पहिले उनीहरूको गाँस, वास र कपासको समस्या हल हुनुपर्छ । शिक्षा र स्वास्थ्य सर्वसुलभ हुनुपर्छ ।’
बिपीले यस्तो सोच प्रस्तुति गर्दा इ. एफ. सुमाखरको नाम लिनुभएको थियो । सुमाखरले एक अर्थशास्त्रीका रूपमा यी कुरा लेखेका थिए । खासमा यो विचारधाराको उदय त औतारी लामा (?) मोहनदास करमचन्द गान्धीले गर्न थालेका थिए ।
तर, मोहनदासको नाम लिनु पनि आवश्यक छैन । सुमाखरको पनि नाम लिने काम छैन । बिपी कोइरालालाई बिर्से पनि हुन्छ । तर, समकालीन विश्वमा एउटा वैकल्पिक सोच सुस्तरी अगाडि बढ्दै छ । विकासको वर्तमान स्वरूप आत्मघाती छ ।
विकासका नाममा धान्नै नसकिने ऋण लिएर ठुल्ठूला सडक, भीमकाय रेल्वे, हवाईजहाज र पानीजहाज चलाएर, ठुल्ठूला मल्टिकम्प्लेक्स बिल्डिङ बनाएर हामी झड्केलो पुँजीवादलाई भित्र्याउन सक्छौँ । तर, त्यस पुँजीवादले गरिबी रेखाको छेउछाउमा बाँचिरहेका मानिसलाई भने कुनै राहत दिन सक्दैन । रोजगार कम भएर जान्छ ।
मौलिक संस्कृति मासिन्छ । मानवीय जीवनमूल्य र विविधता नष्ट हुन्छ । कुनै राष्ट्रिय राज्यले समृद्धि दर बढेको तथ्यांक देखाउँदैमा जनता सम्पन्न छ भन्न सकिँदैन । सुखको त कुरै नगरौँ । झट्ट सुन्दा यो अर्थशास्त्रको गम्भीर विषय जस्तो लाग्छ । तर, यस विषयमा सार्थक विमर्श नहुनु समकालीन नेपालको दुर्भाग्य हो । झलक सुवेदीको लेखले त्यस विमर्शको आवश्यकताततर्फ संकेत गरेको छ ।
Thursday, July 5, 2018
ने.वि.संघ कास्किका नेता विस्वास तिमिल्सिना लाई जन्म दिनको सुभकामना !!!
"जन्मदिनको अशेष अशेष सुभकामना विस्वास जि।"
ने.वि.संघ कास्की नेता,ने.वि.संघ पृथ्वीनारायण क्याम्पसका पुर्व उप-सभापति नव अधिवक्ता सवैको प्रीय पात्र विस्वास तिमिल्सिनाको आज असार २२ गते परेको जन्मदिनको सुखद अवसरमा सु-स्वास्थ्य,दिर्घायु एवंम उत्तरोत्तर प्रगति साथै दिगो सफलताको अशेष अशेष सुभकामना व्यक्त गर्दछौँ ।
पुनश्च: जन्म दिनको सुभकामना विस्वास जि।😀
Wednesday, June 6, 2018
काङ्ग्रेसको दुर्दशामा निष्ठावान काङ्ग्रेसीको दुःखेसो
प्रिय साथीहरू, जय नेपाल !
नेपाली काङ्ग्रेस कास्कीको जिल्ला सम्मेलनको यस अवसरमा जननायक स्व. बीपी कोइराला, लौहपुरुष स्व. गणेशमान सिंह, सन्तनेता स्व. कृष्णप्रसाद भट्टराई, स्व. सुवर्णशमशेर, स्व. गिरिजाप्रसाद कोइराला, स्व. महेन्द्रनारायण निधि, स्व. शैलजा आचार्यलगायतका दिवंगत नेताहरू र प्रातः स्मरणिय सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
जब म आफ्नै अतीततिर फर्केर हेर्छु–जीवनका अनेकौँ उतार–चढाव देख्छु । बाराही स्कुलमा पढ्न गएको एउटा फुच्चे केटो नीलकण्ठ शर्माजस्ता प्रजातन्त्रप्रेमी शिक्षकहरूको प्रभावमा परेर जानी–नजानी प्रजातन्त्र पुनस्र्थापनाको सङ्घर्षमा होमिन पुग्छ । लाहुर जाने र सुखी, समृद्ध जीवन बाँच्ने सपना साँच्ने बेलाको एक किशोर पञ्चायती सत्ताको विरुद्ध सङ्घर्षको लागि सङ्कल्प लिन्छ । म अहिले पनि विचार गर्छु– गरिबी र अभावमा हुर्केको मजस्तो केटोलाई के कुराले छोयो ? लाग्छ– एउटा आदर्शले मलाई आकर्षित गऱ्यो । राष्ट्रको विकासका लागि प्रजातन्त्रको अपरिहार्यता– सायद त्यो आदर्शले म सबैभन्दा बढी प्रभावित भएँ । यसरी सक्रिय राजनीतिमा लागेको पनि आज लगभग ५० वसन्त व्यतीत भइसकेको छ । बितेका यी ५० वर्षमा कति पटक त म मृत्युको मुखमा पुगेर फर्केको छु । विरोधी राजनीतिक शक्तिहरूबाट ममाथि कति पटक साङ्घातिक प्रहार भयो– त्यो मैले गनेको छैन । प्रजातन्त्र पुनस्र्थापनापछि कतिपय उत्तरदायित्व वहनको अवसर मैले पनि पाएको छु । यस्ता अवसरहरूमा मबाट पनि कमी–कमजोरी भएका छन् । मेरो क्रियाकलापबाट पार्टी र साथीहरूमा प्रतिकूल प्रभाव पनि पर्न गएको होला । त्यसका निमित्त म विनम्रतापूर्वक क्षमायाचना गर्न चाहन्छु । तर, म सत्य तथा निष्ठापूर्वक भन्छु– नियतवश पार्टीको हितविरुद्ध म कहिल्यै लागेको छैन र लाग्दिनँ पनि ।
मेरो क्रियाशील राजनीतिक जीवनको ५० वर्षमा काङ्ग्रेस आजजस्तो कमजोर अवस्थामा कहिल्यै पुगेको थिएन भन्ने मलाई लाग्छ । निर्वाचन परिणामकै आधारमा मात्रै म यो ठम्याइमा पुगेको भने होइन । पार्टीको साङ्गठनिक अवस्था, आदर्शको रक्षा र सैद्धान्तिक रूपमा समेत पार्टी कमजोर भएको छ । संविधान निर्माण हामै्र नेतृत्वमा भयो, तर संविधानमा रहेका कतिपय प्रावधान हाम्रो आदर्शअनुकूल भयो/भएन भन्ने कुरामा हामी कति सचेत हुन सक्यौँ ? हामै नेतृत्वमा निर्वाचनहरू सम्पन्न भए । तर, त्यसको जस हामीले किन पाएनौँ ? पार्टीमा पदाधिकारीहरूको चयन समयमा किन हुन सकेन ? किन टिकट वितरणमा आर्थिक चलखेलको कुरा चर्चित रह्यो ?नातावाद र गुटबन्दी किन वनमारा झारजस्तो फैलियो ? किन सिङ्गो पार्टीपङ्क्ति प्रतिरक्षात्मक स्थितिमा पुग्यो ? यी र यस्ता अनेकौँ प्रश्नहरूले उत्तर खोजिरहेका छन् । शुद्ध काङ्ग्रेस भएर काङ्ग्रेसमा बाँच्न सकिन्न ? कुनै न कुनै नेताको दौराको फेर नसमाती वैतरणी तर्न सकिन्न भन्ने मान्यता स्वयम् पार्टीको लागि हलाहल विष समान भएको तथ्यप्रति नेता गणको आँखा चिम्ल्याई रहस्यमय बनेको छ । निर्वाचनमा भएको अन्तर्घात क्षम्य नहुनुपर्ने हो, तर आज त्योसमेत क्षम्य बनेको छ । काङ्ग्रेस सङ्कटमा परेको यो क्षणमा पनि सत्य नबोले कहिले बोल्ने ? चिन्ता र चिन्तन गर्न छोडेर चाकडीमा लाग्ने बेला होइन यो । आरोप र प्रत्यारोपको सङ्कीर्णतामा डुबेर बस्ने बेला पनि होइन यो । तर, गम्भीर समीक्षासहितको भविष्यको मार्ग प्रशस्त गर्नका निमित्त इमानदारीपूर्वक गृहकार्य गर्नुपर्ने बेला भएको छ । त्यसैले शहीदहरूलाई साक्षी राखेर आत्माको आवाज मुखरित गर्न म सबैसँग आग्रह गर्न चाहन्छु ।
दरबार हत्याकाण्डपछि राजसंस्थाप्रति जनआस्था अत्यन्त कम भयो । त्यसमाथि चिठ्ठा परेर राजा भएका ज्ञानेन्द्रको मूर्खताले गणतन्त्र मुलुककै एजेन्डा बन्न गयो । काङ्ग्रेस पनि समयको आह्वानविरुद्ध हुने कुरै भएन । तर, सङ्घीयता र धर्मनिरपेक्षताको पक्षमा उभिनुअघि पार्टीले गम्भीरतापूर्वक सोच्नैपथ्र्यो । संविधानमा समाजवादउन्मुख भनेर कसका पक्षमा हामीले आत्मसमर्पण गरेको हो ? प्रजातन्त्रको सौन्दर्य भनेको विचारको बहुलता पनि हो । राजनीतिक दलहरूको आफ्नो सिद्धान्त निर्माण गर्न स्वतन्त्रताविरुद्ध संविधानलाई उभ्याएर हामी प्रजातन्त्रलाई धरापमा पार्ने षड्यन्त्रको सहयोगी बन्न पुगेका छौँ । भावी पुस्तालाई हामी संविधान निर्माणको वेला कुन सैद्धान्तिक धरातलमा उभिएका थियौँ भनेर भन्न नसकिने अवस्थामा पुगेका छौं । अहिले काङ्ग्रेस गर्विलो इतिहास र धुमिल वर्तमान भएको पार्टीमा रूपान्तरण भएको छ । नेताज्यूहरू भन्नुहोस्– काङ्ग्रेसको सिद्धान्त के हो र एजेन्डा के हो ? यो पार्टी अरूको एजेन्डाको भारी बोक्ने परिस्थितिमा कसरी पुग्यो ? पार्टी आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चक्रव्यूहमा फसेको छ– के यसको नियति अभिमन्युको नियति हो ?
एक वर्ष भयो– स्थानीय सरकारको गठन भएको । जनताले स्थानीय सरकार गठनपश्चात् अपेक्षा गरेको छिटोछरितो सेवा, सुशासन, तीव्र विकास र समृद्धिको सपना नागढुङ्गा–कलङ्की मार्गमा उडेको धुलोजस्तो भएको छ, तर काङ्ग्रेस मौन छ । महँगी बढेको बढ्यै छ– तर काङ्ग्रेस मौन छ । विदेशी प्रभुको अगाडि लम्पसार छ सरकार, तर काङ्ग्रेस मौन छ । अब वक्तव्य र विज्ञप्तिको झारा टार्ने खेलले काङ्ग्रेसमा उत्साहको रक्तसञ्चार हुन सक्दैन । संवैधानिक तथा अन्य महत्वपूर्ण निकाय नेतृत्वविहीन छ–मानौँ काङ्ग्रेसलाई थाहा नै छैन र ऊ मौन बसेको छ ।
ओलि नेतृत्वको यो सरकार शुरुदेखि नै राष्ट्रपतिलाई आफ्नो स्वार्थ–साधनका रूपमा उपयोग गर्न अग्रसर छ । आफू सत्तामा आउनासाथ ढिकुटी रित्तो भएको प्रचार गर्ने र त्यही धरातलमा पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर पु¥याउने भ्रम फिँजाइरहेको यस सरकारलाई मुखभरि जवाफ दिन किन पार्टी नेतृत्व अग्रसर भएको छैन ।
नेता गण ! आज पार्टीबाट ‘आदर्श, नैतिकता, इमानदारी, साहस, लगन र सङ्घर्षशीलता विस्थापित भएको छ भने– लोभलालच, चाकडी, नातावाद र स्वार्थको विषवृक्ष झ्याँगिएको छ । यो विषवृक्षलाई समयमा नै ढाल्न सकिएन भने सर्वसत्तावादको स्वागत गर्नुको विकल्प हामीसँग हुनेछैन । त्यतिखेर सर्वसत्तावाद तपाईंहरूको घाँटीको नाप लिइरहेको हुनेछ, र हामी लाचार तपाईंहरूको अवसानको दिनगन्ती गरिरहेका हुनेछौँ ।
सरकारको नेतृत्व गरिरहेका ओलीको अहंकारको रापले डढ्नु अघि नै रूखलाई शीतल छहारी दिने विशाल वटवृक्षमा रूपान्तरण गर्ने अभियानको आजैदेखि आरम्भ गरौँ । तपाईंहरूको हात मिलाएर ङिच्च हाँसेको तथाकथित एकताको नक्कली फोटो होइन, आमकार्यकर्ता पार्टीको हितमा तपाईंहरू एक भएको अनुभूति गर्न चाहन्छन् । कार्यकर्ता साथीहरू हामी कुनै अमूक नेताको गोजीमा अटाउने साना कदकोठीका भएर राष्ट्र र पार्टीको हितमा कुनै योगदान दिन सक्तैनौँ । नेताको होइन, पार्टीको कार्यकर्ताका रूपमा आफूलाई रूपान्तरण गर्ने सङ्कल्प गरौँ ।
२०३७ सालको जनमतसङ्ग्रहमा बहुदलका पक्षमा सुधारसहितको पञ्चायत पक्षमा भन्दा दश हजारभन्दा बढी मत प्राप्त गरेको जिल्ला हो कास्की । त्यसबेला आजको नेकपा वीजरूप तत्कालीन माले बहुदल धोखा हो भन्दै अप्रत्यक्ष रूपमा पञ्चायतको पक्षमा उभिएको थियो । काङ्ग्रेस एक्लैको बुतामा त्यो जित सम्भव भएको थियो । आज ‘कास्की काङ्ग्रेस भुरे–टाकुरे राजा हुने सपना बोकेर बाँच्नेहरूका कारण धेरै पछाडि परेको छ । क्षमता भएकाहरूलाई पार्टीबाट विस्थापित गरी आफ्नो मार्ग सुरक्षित पार्न खोज्नेहरूले अहिले थाहा पाएको हुनपर्छ– आफन्तको कदकाँठी घटाउँदा आफ्नो पनि साइज घट्छ भन्ने कुरा ।’ अहिले म तीतो पोख्न चाहन्नँ । ब्रह्माजीका तीन मुखजस्तो नेविसङ्घ कास्की समानान्तर रूपले गठित तीन समितिले अहिले प्रतिबिम्बित गराएको समयका प्रतिको असंवेदनशीलताले म लज्जित भएको छु । कुन–कुन कास्कीका वा केन्द्रका नेताले यो अपराधलाई आशीर्वाद दिनुभएको छ । तुरुन्तै बन्द गर्नुहोस् ।
कास्की काङ्ग्रेसमा विचार मन्थन आवश्यक छ । विगतको निर्मम समीक्षा र आगतका लागि सुस्पष्ट मार्गचित्रको खाँचो छ । हार्दिक एकताको आवश्यकता छ । म आस र त्रासबाट मुक्त भएर त्यसका लागि लाग्ने सङ्कल्प गर्दछु । र, सबैलाई काङ्ग्रेसको पुनर्जागरणको महान् अनुष्ठानमा सामेल हुन आग्रह गर्दछु ।
जय नेपाल !
– महादेव गुरुङ, नेपाली काङ्ग्रेस
(नेता गुरुङद्वारा २०७५ जेठ १७ गते पोखरामा जारी नेपाली काङ्ग्रेस कास्कीको जिल्ला सम्मेलनको उद्घाटन सत्रमा राखिएको मन्तव्य)
Monday, May 21, 2018
होइन, कसैले हिन्दूराज्य भन्छ भने त्यो झेली मात्र: बिपी कोइराला
कांग्रेसभित्र हिन्दू राज्य कि धर्मनिरपेक्ष भन्ने प्रश्नमा निकै ठूलो बहस सुरु भएको छ । दूरदर्शी राजनेता बिपी कोइरालाका कान्छा छोरा एवं महामन्त्री शशांक कोइराला र ठुलो छोरा प्रकाश कोइरालाले यस विषयमा जनमतसंग्रह हुनुपर्ने व्यक्त गरेपछि बहस सुरु भएको छ । यस मामिलामा स्वय बिपी कोइरालाको विचार चाहिँ के छ ?
०३६ सालको जनमतसंग्रहका बेला बिपी साप्ताहिक विक्ली मिररले गरेको अन्तर्वार्ता । विक्ली मिररले अन्तर्राष्ट्रिय महत्वका केही मुद्दामा उहाँको विचार जान्न खोज्दा लिखित प्रश्न मागेर लिखित नै जवाफ दिनुभएको थियो ।
तपाईंले हालै भारतलाई दाजु र चीनलाई मित्रको रूपमा व्याख्या गर्नुभयो यसको मतलव तपाईंले भारतका सम्बन्धमा तथाकथित ‘विशेष सम्बन्ध’ को सिद्धान्तलाई तपाईंले समर्थन गरिरहनुभएको होइन त ?

मलाई थाहा छैन । तपाईं गणितीय वा सर्वेक्षकको ‘दूरी’ शब्दलाई कसरी बुझ्नुहुन्छ । यदि तपाईं ‘समदूरी’लाई ‘नेपालले पेकिङसँग सम्झौतामा हस्ताक्षर ग¥यो । उसले तत्कालै दिल्लीसँग पनि त्यस्तै सम्झौता सम्पन्न गर्नुपर्छ । समदूरीको मागलाई बराबर बनाउनुपर्छ भन्ने अर्थमा बुझ्नुहुन्छ’ भने नेपालले संख्याको खेल पुनारम्भ गर्नुपर्छ ।
सम्झौताका संख्यालाई एक र अर्को मुलुकसँग समान बनाउँदै जानुपर्छ । त्यसो हो भने कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा हुने त्यस्तो प्रयत्नलाई म मूर्खतापूर्ण भन्छु । म छिमेकीबीचको सम्बन्ध आफ्ना चाहना अनुसारको पारस्परिकताबाट निर्देशित हुनुपर्छ भन्ने पक्षमा छु ।
एक छिमेकीभन्दा अर्को छिमेकीसँग सम्पर्क वा आपसी स्वार्थका बढी विषय छन् भने पहिलोभन्दा दोस्रोसँग बढी सम्झौता वा सन्धि हुनु अपरिहार्य बन्छ । मुलुकको सम्बन्ध तपाईंको ‘विशेष महत्व’को संज्ञाअनुसार चल्न खोज्यो भने कसैले केही पनि गर्न सक्तैन ।
तपाईं सन् १९५० को नेपाल–भारत सन्धिलाई जनताको भावनाअनुरूप रहेको ठान्नुहुन्छ ?
सन् १९५० को सन्धि त्यस बेलाका निरंकुश राणा शासकका प्रतिनिधिबाट हस्ताक्षर भएको थियो । आजको नेपालमा पनि त्यसैसँग मिल्दोजुल्दो शासन छ । त्यस सन्धिका विभिन्न सर्त राजाको प्रत्यक्ष शासनलगायत विभिन्न घटनाबाट उल्लंघन भइसकेका छन् । त्यसमा सहभागी बनेर करार गर्ने एउटा पक्षले यसबीच तीनवटा प्रमुख युद्ध पनि भोगिसकेको छ ।
नेपाललाई त्यस सन्धिबाट विश्वका अरू सार्वभौम मुलुकसमक्ष समानताका आधारमा आफूलाई स्वतन्त्र सार्वभौम मुलुकका रूपमा प्रक्षेपित गर्न कति अप्ठ्यारो पारेको छ भन्ने कुरो तपाईं आफैले मूल्यांकन गर्नुपर्छ । जहाँसम्म यस सम्बन्धमा मेरो धारणाको प्रश्न छ, म तपाईंलाई यस प्रश्नका सम्बन्धमा प्रधानमन्त्री हुँदाको बेलाको वक्तव्य हेर्न आग्रह गर्छु ।
तपाईंले यो प्रश्न मसँग म प्रधानमन्त्री भएकै बेला राख्नुपथ्र्याे । अनि, तपाईंले त्यसबेला हुनुहुन्थ्यो भने यो प्रश्न विशेषगरी सन् १९५० पछि बनेका सबै सरकारसँग राख्नुपथ्र्याे । तपाईंले यो प्रश्न खासगरी राजाले प्रत्यक्ष शासन गरेको समयमा उहाँसँग राख्नुपथ्र्याे । मलाई पनि म प्रधानमन्त्री बनेको समयमा यो प्रश्न राख्नुपथ्र्यो ।
यतिखेर तपाईं सरकारमा बढी उपस्थित हुनुहुन्छ र भविष्यका सरकारको प्रतिनिधित्व पनि गर्नु हुने सम्भावना छ । तसर्थ, एउटा मुलुकको सार्वभौमिकताप्रति कसरी सम्झौता गर्न सकिन्छ र उसको अन्तर्राष्ट्रिय क्षेत्रको भूमिकालाई कुनै सन्धिको उपस्थितिले कसरी अवरुद्ध पार्न सक्छ भन्ने प्रश्नको जवाफेही उत्तर खोज्नु होला भन्ने आशाका साथ मैले तपाईंलाई यो सल्लाह दिएको हुँ ।
नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई तपाईं समर्थन गर्नुहुन्छ कि हुँदैन ?
मैले त्यो शान्ति क्षेत्रको प्रस्तावलाई राम्ररी अध्ययन गरेको छैन । तर, कसैले पनि त्यस प्रस्तावको अर्थपूर्ण अध्ययन गरेका छन् जस्तो मलाई लाग्दैन । त्यसका प्रणेताले पनि त्यसका लागि पर्याप्त गृहकार्य नगरी कुनै राजनीतिज्ञले चुनाव जित्न एकाएक बोलेको कुरा जस्तो देखिन्छ ।
म, त्यसमा रहेका मीठा र उत्साहप्रद लाग्न सक्ने शब्द र नाराको पछाडि मात्र कुद्दिनँ । सबैले त्यस प्रस्तावमा रहेको गम्भीर प्रश्नको गहिराइमा पुगेर त्यसले राष्ट्रिय स्वार्थका लागि कस्तो सहयोग पु¥याउँछ भन्ने उत्तर खोज्नुपर्छ । यसले वर्तमान विश्व परिप्रेक्षमा चीनलाई कस्तो फाइदा पु¥याउँछ र रूसलाई कस्तो सहयोग पु¥याउँछ ?
हामीले एकछिन अडिएर सोच्यौँ भने त्यो चीन र रुसको स्वार्थअनुरूप छ । प्रत्येक अन्तर्राष्ट्रिय सवालमा एकअर्काप्रति हिंस्रक रूपमा देखापर्ने यी दुवै मुलुकले त्यस प्रस्तावलाई समर्थन गरेका छन् । ठीक त्यसरी नै हामीले यसलाई समर्थन गर्न भारतले किन आनाकानी गरिरहेको छ भन्ने पनि हेर्नुपर्छ । मेरो विचारमा यो प्रस्तावलाई सूत्रबद्ध गर्दा धेरै सोच–विचार पुगेको छैन ।
नेपालले यस क्षेत्रको जलस्रोतको उपयोगका लागि क्षेत्रीय छिमेकीसँग अघिसारेको भारत, बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाका अतिरिक्त चीन समेतको सहभागितामा क्षेत्रीय सहयोग अघिबढाउने प्रस्तावका विषयमा तपाईं कस्तो विचार राख्नुहुन्छ ?
श्रीलंका त्यो किन चाहन्छ ? उसलाई भौगोलिक अवस्थितिको आधारमा तपाईंको सूचीमा राख्नुहुन्छ भने दक्षिण एसियामै पर्छ र ऊ दक्षिण एसियाली मुलुकको परिवारमा पर्छ । तर, दक्षिण एसियाली भागमा नपर्ने चीन किन ? यस क्षेत्रको केही जलस्रोतको उद्गम चिनियाँ भूभागमा भएको सोच हो भने श्रीलंकाको हकमा त्यस्तो सोच लागू हुँदैन । म खुला रूपमा भन्छु, यस्ता प्रश्नमा अनुकूलताअनुसार द्विपक्षीय, बहुपक्षीय र अन्तर्राष्ट्रिय सम्झौता नै हुनुपर्छ ।
तपाईं नेपालमा सिक्किम, तिब्बत वा अफगानिस्तान दोहोरिने कस्तो सम्भावना देख्नुहुन्छ ?
नेपालले (१) संवैधानिक राजतन्त्र (२) प्रातान्त्रिक राजनीतिक प्रणाली, र (३) मुठ्ठिभर जनसंख्यालाई सहयोग पु¥याउने मात्र होइन, सम्पूर्ण जनसंख्यालाई सहयोग पु¥याउने आर्थिक विकासको आधारमा वास्तविक राष्ट्रिय एकता बनाउने हो भने हाम्रो राष्ट्रिय स्वाभिमानमा निश्चत रूपमा कुनै खतरा छैन । हामीले अरूले के गर्ला भनेर सोच्नुभन्दा पूर्ण र सम्पूर्ण रूपमा राष्ट्रिय एकता कायम गर्न यस्ता कुरामा ध्यान केन्द्रित गर्नुपर्छ ।
सिक्किममा केही वर्षअघि भएको जनमतसंग्रह र यहाँ राष्ट्रिय नीतिलाई नयाँ आकार दिन प्रस्ताव गरिएको राष्ट्रिय जनमतसंग्रहमा केही अन्तर छन् भने तपाईं त्यसबारे बोल्न चाहनुहुन्छ कि ?
सिक्किममा आफ्नो अन्तर्राष्ट्रिय पहिचान वा अन्य कुनै उद्देश्यका लागि जनमतसंग्रह भएको थिएन भन्ने यथार्थ तपाईंलाई थाहा हुनुपर्छ भन्ने मलाई लाग्छ । नेपालमा राष्ट्रिय नीतिको निर्णय गर्न हुन गइरहेको जनमतसंग्रह केही वर्षअघि सिक्किममा भएको राष्ट्रियसभासँग मिल्दोजुल्दो छैन ।
मध्यपूर्वको शान्तिको प्रश्नमा तपाईंको कस्तो धारणा छ ?
म तपाईंको यस प्रश्नका सन्दर्भमा सरकारले राखेको अडानलाई प्रस्ट रूपमा बोल्न आँट गरेको मान्छु ।
नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउन चाहने व्यक्तिका रूपमा तपाईंलाई लिइन्छ नि ?
नेपाल हिन्दूराज्य हुँदै होइन । कसैले हिन्दूराज्य हो भन्छ भने त्यो झेली मात्र हो । नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो । धर्मनिरपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ । तसर्थ, मन्दिर वा प्रार्थनास्थल कुन हो भनेर छुट्याउनुपर्ने प्रश्न नै उठ्दैन ।
तपाईंले हालै एपीसँगको अन्तर्वार्तामा प्रकट गर्नु भएजस्तो जनमतसंग्रहबाट वैधानिक तवरबाट शक्ति खोसिने हुँदा कुनै विशेष परिस्थिति उत्पन्न भएन भने नेपालमा जनमतसंग्रह नै हुँदैन भन्ने आफ्नो दाबालाई वास्तवमै नेपाली जनताले विश्वास गर्छन् भन्ने ठान्नुहुन्छ ?
मैले कहिल्यै पनि श्री ५ को घोषणा अनुसार निर्वाचन हुँदैन भन्ने आशंका व्यक्त गरेको छैन । यो हुनुपर्छ र कुनै विलम्ब नगरी हुनुपर्छ भन्ने तथ्यलाई राम्ररी बुझियोस् । तथापि, मैले प्रेससँग प्रश्नका जवाफ दिइरहँदा उनीहरू मलाई निर्वाचनअघिका लागि राजासँग कुनै अन्तरिक सम्झौता भएको छ कि भनेर प्रश्न गर्ने गर्छन् ।
पहिलो, म के सोच्छु भने वर्तमान थापा सरकारलाई विघठन गर्नु आवश्यक छैन । यसले प्रशासन चलाउनुबाहेक १) कानुन व्यवस्था बहाली गर्ने र २) सकेसम्म चाँडो जनमतसंग्रह सम्पन्न गर्ने मुख्य जिम्मेवारी लिएर अन्तरिम सरकारको रूपमा काम गर्छ । ती काम गर्न थापा सरकार असफल भयो भने त्यस अवस्थामा राजाले कुनै असंवैधानिक वा आधारहीन अन्तरिम सरकार बनाउने प्रयत्न गर्नुभन्दा त्यो जिम्मेवारी बहन गर्नका लागि हामीलाई आमन्त्रण गर्नुपर्छ ।
हामी त्यो जिम्मेवारी बहन गर्न तयार छौँ । मैले स्थायी होइन, केवल जनमतसंग्रहका लागि गरिने अन्तरिम सम्झौताका सवालमा प्रस्ट पारेँजस्तो मलाई लाग्छ । स्थायी सम्झौता भने जनमतसंग्रहपछि हुनेछ । जनमतसंग्रहमा अभूतपूर्व रूपमा बहुदलको पक्षमा जनमत प्रकट हुनेछ भन्नेमा सन्देह छैन ।
हाम्रो मुलुकका भविष्यका नीतिगत विकल्पहरू र भारतसँगको सम्बन्ध कस्तो हुनुपर्छ ?
म विशेषगरी भारतको अत्यन्त तरल र अस्थिर वर्तमान राजनीतिको सम्बन्धमा केही भन्न चाहन्न ।
जनमतसंग्रहमा आफ्नो प्रचार अभियान सञ्चालन गर्न तपाईं कहाँबाट रकम प्राप्त गर्ने आशा राख्नुहुन्छ ?
जनताबाट, स्वभावैले तपाईंबाट पनि ! हाम्रो प्रचार अभियानका लागि हामीलाई कुनै विदेशी सहयोगको आवश्यकता पर्दैन भन्ने म प्रस्ट पार्न चाहन्छु ।
२० जुलाई १९७९ (४ साउन २०३६) ऐतिहासिक जनमतसंग्रहका बेला बिपीले दिएका लिखित अन्तर्वार्ता
स्रोत: डेमोक्रेसी इनडिस्पेन्सिवल फर डेभलपमेन्ट,
Monday, May 7, 2018
जनप्रीय स्ववियु उप-सभापति लाई जन्म दिनको सुभकामना !!!
जन्मदिनको अशेष अशेष सुभकामना !!!
जनप्रीय क्याम्पस स्ववियु सभापति नेविसंघ विधार्थी नेता किशान थापाको आज आज वैशाख २४ गते परेको जन्मदिनको सुखद अवसरमा सु-स्वास्थ्य,दिर्घायु एवंम उत्तरोत्तर प्रगति साथै दिगो सफलताको अशेष अशेष सुभकामना व्यक्त गर्दछु।
पुनश्च: जन्म दिनको सुभकामना किसान ज्यु।😀💕💕😀
Best wishes for a joyous day Wish you a happy birthday :)