Friday, July 21, 2017

समाचारपत्र टेबलमा पछार्दै राजा ज्ञानेन्द्रले गिरिजालाई भने, पीएम तपाईंलाई त भ्रष्टाचारी भन्छन् नि !

-जगत नेपाल
दिल्लीको त्यो भेट जसले बदलियो नेपालको राजनीतिको
कोर्स
प्रधानमन्त्रीको हैसियतमा हरेक साता मन्त्रिपरिषद् बैठकबारे राजालाई
ब्रिफ गर्न दरबार जाने दिन गिरिजाप्रसाद कोइरालालाई सबैभन्दा अप्ठयारो महसुस
हुन्थ्यो,’ कोइराला प्रधानमन्त्री हुँदा लामो समय प्रमुख
स्वकीय सचिवका रूपमा सघाएका हरि शर्माले तीन महिनाअघि
लेखकलाई सुनाए ‘दरबार जानुअघि सधैं दौरा, सुरुवाल, कोट लगाएर चिटिक्क परेपछि
पर्फयुम छर्नुहुन्थ्यो । अनि क्रिम लगाउँदै निस्कने बेला ऐना हेर्दै भन्नुहुन्थ्यो—
जनताको प्रतिनिधिले यति बनेर त जानैपर्यो नि, हैन ।’
प्रजातान्त्रिक शासनकालमा सबैभन्दा लामो अवधि प्रधानमन्त्री भएका
कोइराला सरकारको निर्णय सुनाउन कैयौं पटक दरबार गए । तर २०५८ साउन पहिलो
साता जति अपमानित भएर कहिल्यै फर्किएका थिएनन् । कोइरालाले लेखकलाई त्यो
दिनको घटना सुनाउँदै भनेका थिए, ‘नेपाल समाचारपत्र दैनिक टेबलमा पछार्दै राजा
ज्ञानेन्द्रले भने— पीएम तपाईंलाई त भ्रष्टाचारी भन्छन् ।
राजीनामा गर्ने बेला भएन । मलाई पनि झनक्क रिस उठेर आयो ।
सरकारलाई पनि त दाजुको हत्या गरेर राजा भएको भन्छन् । म पनि भन्दै हिँडौं सरकार
। राजा बोल्नै सकेनन् ।’ जतिसुकै अपमानित हुनुपरे पनि प्वाक्क नबोल्ने तर
‘एक्सन’ बाट जवाफ दिने स्वभावका कोइरालाले त्यति बेला आफूलाई कन्ट्रोल गर्नै
सकेनन् । रिसको पारो चढेर आयो । राजालाई मुखभरिको जवाफ दिए । अनि, तत्काल
राजासँग बिदा भएर बाहिरिए । त्यसपछिका दिनमा राजासँग राम्रो बोलचालै भएन । एकै
पटक राजीनामापत्रसहित दरबार पुगे उनी ।
प्रधानमन्त्रीले राजीनामा गर्दै छन् भन्ने कुराको सुइँको
उनकै ‘किचन क्याबिनेट’ का केही सदस्यले समेत पाएनन् ।
राजीनामा वक्तव्य नेपाल टेलिभिजनको क्यामरामा कैद भएपछि मात्र
मन्त्रीहरूले थाहा पाए ।
जस्तोसुकै संकटको पनि डटेर सामना गर्ने छविका कोइरालाका लागि जीवनकै
सबैभन्दा कठिन समय थियो त्यो । राजा, माओवादी, प्रमुख
प्रतिपक्षी नेकपा एमालेले मात्र होइन आफ्नै पार्टीभित्रबाट
पनि उनीविरुद्ध तीव्र आलोचना भइरहेको थियो ।
चौतर्फी घेराबन्दीको सामना गरिरहेका कोइरालामा फेरि सत्तामा
फर्किन सक्ने कल्पनासमेत थिएन । उनका कैयौं दिन छटपटीमा बिते ।
आफूमाथि राजाबाट भएको अपमानले उनमा प्रतिशोधको ज्वालामुखी फुटेको
थियो । कोइरालाले लेखकसँग भनेका थिए, ‘त्यति बेला कैयौं दिन सुत्न सकिनँ । के
गर्ने ? कसो गर्ने ?’ बीपीको मेलमिलाप नीति
अर्थात् ‘संवैधानिक राजतन्त्र र बहुदीय प्रजातन्त्र’ मा अडिग कोइरालाको
मन भाँचियो । उनी कांग्रेसको विधानबाट संवैधानिक राजसंस्था हटाउने
ऐतिहासिक घुम्तीनजिक पुग्दै थिए । तिनताका निकट
सहयोगीसँग उनले भन्ने गर्थे, ‘राजाले निहुँ खोजे । म पनि देखाइदिन्छु ।’
कुनै समय कोइरालाका सहयोगी रहेका पुरञ्जन आचार्य भन्छन्,
‘रातभर नसुतेका कारण बिहान गिरिजाबाबुका आखाँ राता हुन्थे । एक दिन एकाएक उहाँले
भन्नुभयो— मैले राजनीति राजाका लागि गरेको हो र ? जनताका लागि हो ।’
संवैधानिक राजतन्त्र र बहुदीय प्रजातन्त्रको सिद्धान्तबाट
पार्टीलाई गणतन्त्रतर्फको मार्गमा लैजाने रोडम्याप बनाइरहेका थिए
कोइराला । तर गोप्यताका लागि सम्पूर्ण योजना उनले आफैंभित्र सीमित
राखेका थिए । उनको विशेषता नै हो, जतिसुकै असम्भव काम पनि गर्छु भनेर लागेपछि
पूरा गरेरै छाड्नुपर्ने । सबैको सूचना लिने, विश्लेषण गर्ने अनि मात्र योजना बनाउँथे
उनी । कुन मानिसलाई के प्रयोजनका लागि कसरी प्रयोग
गर्ने भन्ने विषयमा उनी सधैं सचेत रहन्थे । त्यसैले एउटै काममा
उनी थुप्रै मानिसलाई जिम्मेवारी दिने गर्थे ।
राजाबाट अपमानित कोइराला उनलाई तह लगाउन माओवादी सम्पर्क सूत्रको
खोजीमा थिए । माओवादी नेता प्रचण्डसँगको सम्पर्क
सूत्रका रूपमा उनले प्रयोग गरेका पहिलो व्यक्ति थिए पत्रकार कृष्ण सेन । भतिजा
श्रीहर्ष कोइराला र सुशील नाहटाको घरमा सेनलाई कैयौं पटक
भेटे उनले । सेन धेरैजसो काठमाडौंको कुनै होटलमा बसेर गिरिजाबाबुसँग भएको
कुराकानीबारे प्रचण्डलाई रिपोर्टिङ गर्थे । सुरक्षाका दृष्टिले शंका नहोस्
भन्नका लागि उनी बसेको कोठामा बाहिरबाट ताल्चा लगाउने व्यवस्था
मिलाइन्थ्यो ।
सेन र कोइरालाको भेटघाटको चाँजो–पाँजो मिलाउने काममा सक्रिय बालकृष्ण दाहाल
भन्छन्, ‘गिरिजाबाबुले सेनलाई बारम्बार भन्ने गर्नुभएको थियो— सुरक्षा निकायले मलाई
पनि वाच गर्न थालेका छन् । तपाईं पनि अलि सचेत रहनुहोला है ।’
काठमाडौंभित्रै केन्द्रीयस्तरका माओवादी नेतासँग कोइरालाका
सहयोगीले लगातार ३४ घण्टासम्म वार्ता गरेको सूचना सुरक्षा निकाय
मार्फत सरकारले पाएको थियो ।’ राष्ट्रिय अनुसन्धान विभागका प्रमुख
देवीराम शर्मा भन्छन्, ‘कोइरालासमेत बैठकमा पटक–पटक
सहभागी भएको सूचना हामीसँग थियो ।’
त्यहीबीच कोइराला र प्रचण्डबीच सम्पर्क
सूत्रको भूमिकामा रहेका पत्रकार सेन पक्राउ परे । चरम यातनापछि
प्रहरी हिरासतमै उनको हत्या भयो ।
त्यो घटनापछि कोइराला र माओवादी नेता प्रचण्डबीच टेलिफोन
संवाद गर्दा अझ सतर्कता अपनाउन थालियो । कोइरालाका सहयोगीहरूले
चार पाँचवटा प्रिपेड सिम व्यवस्था गरेका थिए । हरेक पटक सिम फेरेर मात्र
प्रचण्डलाई सम्पर्क गरिन्थ्यो ।
यस्तैमा एक दिन कोइरालाले कांग्रेस नेता चक्र बास्तोलालाई महाराजगन्जस्थित निवासमा
बोलाएर केही पैसा दिंदै भने, ‘चक्रजी दिल्ली
जाऊँ । गोकर्णले (निजी सचिव) टिकट मिलाउँछ । नोना भाउजू र
हामी पहिल्यै जान्छौं । तपाईंपछि आउनू ।’ चार वर्षयता बास्तोला अचेत
अवस्थामा छन् । २०६३ को मध्यपुसमा दैनिक बिहान खुमलटारस्थित निवासमा पुगेर
कैयौं राजनीतिक घटनाका अन्तरकथा लगातार एक सातासम्म बास्तोलाकै
मुखबाट सुन्ने सौभाग्य लेखकलाई मिलेको थियो । त्यही क्रममा उनले
भनेका सम्झन्छु ‘चार दशक लामो सहयात्राका क्रममा गिरिजाबाबुले मलाई
कहीँ पठाउनुपर्दा त्यसरी पैसा दिएको त्यो नै पहिलो घटना
थियो ।’
दिल्ली पुगेपछि पनि उनीहरू छुट्टाछुट्टै बसे, कोइराला ह्यात र
बास्तोला कनटपेलेसको होटलमा । त्यति बेलासम्म पनि बास्तोलालाई कुन मिसनका लागि
दिल्ली आएको भन्ने खुलाइएको थिएन । केही दिनको होटल
बसाइपछि बास्तोला इन्डिया इन्टरनेसनल सेन्टरमा सरे । यसबीचमा
कोइरालाले आफैंले गोप्य तवरबाट माओवादी नेताहरू प्रचण्ड र बाबुराम
भट्टराईसँग भेट्ने प्रयास गरिरहेका थिए । तर पनि साइत जुरिसकेको थिएन । अनि एक
दिन उनले बास्तोलासँग भने, ‘चक्रजी माओवादीसँग
भेट्नुपर्यो । ल यो फोन नम्बर लिनुस् वामदेव क्षत्रीको ।
उनीसँग कुरा गरेर प्रचण्डलाई भेट्ने चाँजो–पाँजो मिलाउनुपर्यो । तर
कसैले थाहा नपाउन् है ।’
माओवादीका तर्फबाट कोइराला–प्रचण्ड भेटका लागि खटिएका
क्षत्रीले लेखकसँग भनेका छन्, ‘गिरिजाबाबुका पीए गोकर्ण
पौडेल र म दुवै गुल्मीका । हामीबीच कुरा हुँदा
पौडेल सधैं भन्नुहुन्थ्यो— हैन सीधै गिरिजाबाबु र
प्रचण्डबीच संवाद गराएर समाधान खोजौं । मैले नै गिरिजाबाबुले भेट्न
चाहेको कुरा पार्टी हेडक्वाटरमा राखें अनि प्रचण्ड र बाबुरामले भेटको
व्यवस्था मिलाउने जिम्मा मलाई दिनुभएको हो ।’
सरकारले आतंककारी घोषणा गरी टाउकाको मोल तोकेका
प्रचण्ड र बाबुरामसँग पूर्वप्रधानमन्त्री कोइरालाको भेट गराउनु त्यति
सहज थिएन । कोइरालाको सुरक्षार्थ भारतीय र नेपाली
सुरक्षाकर्मी हरदम खटिइरहने । त्यसमाथि दिल्लीका
गल्ली–गल्लीमा परिचालित भारतीय र
नेपाली जासुसलाई छल्नुपर्ने । तिनलाई छलेर कहाँ कसरी
भेटाउने ? क्षत्री सम्झन्छन्, ‘पहिलो दिन गिरिजाबाबुका भतिजा निरञ्जन
कोइरालाको घरमा भेट भयो । अनि अरू भेटका कार्यक्रम तय गर्यौं ।’
भोलिपल्ट बिहानै साढे चार बजे बास्तोलाले सुटुक्क भाडाको टयाक्सीमा
कोइरालालाई होटलबाट बाहिर निकाले । बाटोमा तीनवटा ट्याक्सी
बदलेर कोइरालालाई मोतीबाट पुर्याए । त्यहींको एउटा घरमा
भेट्ने पूर्वनिर्धारित कार्यक्रम थियो । क्षत्री भन्छन्, ‘सुरक्षाका
दृष्टिले त्यहाँ उचित लागेन । अनि फेरि चौकीदारसँग सम्पर्क गरेर
नजिकैको मन्दिर परिसरमै भेट्ने व्यवस्था मिलायौं ।’ मन्दिरमा त जो पनि जान सक्छन्
। के आतंककारी, के नेता, के धर्मात्मा । मन्दिरमा भेट्ने आइडिया
गिरिजाबाबुकै थियो । दुवै पक्षले अत्यन्त गोप्य राखेको भेटमा
माओवादीबाट प्रचण्ड, भट्टराई र क्षत्री भने कांग्रेसबाट
कोइराला बास्तोला र गोकर्ण पौडेल ।
कोइरालासँगको पहिलो भेटमै चञ्चले स्वभावका प्रचण्ड दह्रो हात मिलाएर बोल्न
थालिहाले ‘गिरिजाबाबु स्वागत छ । धेरै पहिलेदेखि हामीले तपाईंसँग भेट्ने
चाहना राखेका थियौं । सम्भव भएको थिएन । संयोगले आज भेट भयो । यसलाई
निरन्तरता दिइरहनुपर्छ ।’
अरूका कुरा सुनिरहने हत्तपत्त नबोल्ने र बोल्नै परे पनि ‘बुझें– बुझें’ वा ‘आज्ञा’
भन्ने बानीका कोइरालाले त्यो भेटबारे लेखकसँग भनेका छन्,
‘बाबुरामजीसँग त पहिलेदेखि नै चिनजान थियो । उनैले प्रचण्डसँग परिचय
गराए । प्रचण्डले मस्कुराउँदै कँसिलोसँग हात मिलाए । तर म अल्मलिएँ, बजारमा
प्रचण्ड छँदै छैनन् भन्ने हल्ला थियो । कोही राजा ज्ञानेन्द्र नै
प्रचण्ड हुन् भन्थे, कोही अरूका नाम लिन्थे । मलाई लाग्यो, ‘यो
त्यही प्रचण्ड हो त ?’
‘चेनस्मोकर’ कोइरालाले मन थाम्नै सकेनन् । चुरोट सल्काएर धूवाँ तान्दै भन्न थाले,
‘ल प्रचण्डजी यसरी भएन । यो मारकाट देशले धान्दैन ।
शान्ति प्रक्रिया थाल्नुपर्यो ।’
प्रचण्डले भने, ‘गिरिजाबाबु राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाका लागि
हामीले हतियार उठाएका हौं । तपाईं पनि प्रजातन्त्रका लागि लामो संघर्ष
गरेको र हतियारसमेत उठाएको नेता । हामीलाई सहयोग गर्नुस् ।’
कोइरालाले थपे, ‘तपाईंहरूको मप्रति त्यति राम्रो इम्प्रेसन छैन भनेर म आफैं भेट्न
आएको हुँ । प्रजातन्त्रका लागि म जस्तोसुकै त्याग गर्न तयार छु । तर तपाईंहरू र
राजा मिलेर कतै हामीलाई सक्नुहुने त होइन ?
अनि, कोइरालाले कुराकानी पनि त्यही प्रसंगबाट सुरु गरे ।
कोइराला–काठमाडौंमा राजासँग र तपाईंहरूको भेट भएको हल्ला छ । के तपाईंहरूले
भेटेको हो ?
प्रचण्ड— हो गिरिजाबाबु ।
कोइराला— के भने त राजाले ?
प्रचण्ड— तिमी र हामी मिलौं । मिलेर राज्य सञ्चालन गरौं ।
संसद्वादी दलका नेता सबैलाई म जेल हालिदिन्छु ।
कोइराला— तपाईंहरूले के भन्नुभयो त ?
प्रचण्ड— हामीले मानेनौं ।
छोटोमा कुरा गर्ने कोइरालाको बानी प्रचण्डलाई मन पर्यो । उनले भने,
‘राजनीतिमा कुरा नमिली युद्ध रोकिँदैन ।
प्रचण्डले त्यो भेटका बारेमा भनेका छन्, ‘पहिलो भेटमै गिरिजाबाबुसँग मेरो के मिल्यो के
मिल्यो । म उहाँलाई अभिभावक मान्न थालें, त्यसै दिनदेखि । त्यही
भेटमा गिरिजाबाबुसँग मैले भनेको थिएँ— तपाईं गणतन्त्रमा आउनुस्, हामी
बहुदलीय प्रतिस्पर्धामा आउँछौं । गिरिजाबाबुले तुरुन्तै गणतन्त्रमा
आउँछौं भन्नु त भएन तर उहाँको प्रस्तुति र बडी ल्याङ्वेजबाट उहाँ
गणतन्त्रबारे सोचिरहनुभएको छ भन्ने बुझिन्थ्यो । गणतन्त्र बिस्तारै हुन्छ एकै
पटक हतारिएर हुँदैन भन्नुहुन्थ्यो ।’
प्रचण्डसँगको पहिलो भेटबारे कोइरालाले लेखकलाई सुनाएका थिए, ‘राजाले
हामी मिलौं, संसद्वादी दलका नेतालाई म जेल हाल्छु भन्दा
हामीले मानेनौं भन्ने प्रचण्डको भनाइमा मलाई विश्वास लागेको थिएन ।’
दस वर्ष लामो सशस्त्र विद्रोहबाट माओवादीलाई शान्तिपूर्ण
राजनीतिमा ल्याउन भएको त्यो ऐतिहासिक वार्ताको क्षणबारे १० वर्षअघि
नै कांग्रेस नेता बास्तोलाले लेखकलाई सुनाएका थिए, ‘कुरा जारी रहँदा
गिरिजाबाबुले भन्नुभयो— ल प्रचण्डजी मेरो आजै भारतीय
प्रधानमन्त्री अटलविहारी बाजपेयीसँग भेट्ने
समय छ । अलि हतारमा छु । तपाईंहरू चक्रजीसँग कुरा गर्नुस्, म
फर्किएँ ।’
प्रचण्डसँगको भेटपछि वार्ताबाटै राजनीतिक समाधान निकाल्न सकिन्छ
भन्ने आत्मविश्वासका साथ कोइराला काठमाडांै फर्किए । त्यही बेला उनले
आफ्ना सहयोगीलाई सुनाएका थिए, ‘प्रचण्डसँगको
कुराकानीबारे राजालाई जानकारी गराउँछु, अनि संसद् मार्फत
वार्ता गरेर माओवादीलाई राजनीतिको मूलधारमा ल्याउनुपर्छ ।’
केही दिनमै उनले राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरबारमा
भेटेर भनेका थिए, ‘सरकार, माओवादी संसद्सँग वार्ता गरेर
राजनीतिक मूलधारमा आउन तयार छन् । त्यसका लागि संविधान संशोधन गरे
हुन्छ, प्रस्तावना जस्ताको तस्तै रहँदा पनि उनीहरूलाई आपत्ति छैन ।
सरकारको यसमा के धारणा छ ?’ राजा वार्ताको जश कोइरालालाई दिने पक्षमा थिएनन् ।
बरु माओवादी विद्रोहलाई देखाएर आफ्नो शक्ति बढाउने
रणनीतिमा थिए ।
राजाले तत्काल भने रे, ‘एक्स पीएम संसद्ले वार्ता गर्यो भने, त्यसमा
मेरो के भूमिका रहन्छ ।’
कोइरालाले भने, ‘सरकार । संसद् भनेकै श्री ५, प्रतिनिधिसभा र राष्ट्रिय
सभा हो । यसमा संवैधानिक राजाको जे भूमिका रहन्छ सरकारको पनि
त्यही हो । म पनि कांग्रेसको सभापति हुँ, मेरो पनि त्यही
भूमिका रहन्छ । मैले माओवादीलाई वार्ताको टेबुलमा ल्याइदिने हो ।
प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष
प्रचण्डबीच हस्ताक्षर हुन्छ ।’
एक साताभित्र सोचेर जवाफ दिने भन्दै राजाले कोइरालालाई बिदा गरे । दरबारबाट फर्किंदै
गर्दा कोइरालाको मनमा चस्का पस्यो । राजाले किन भूमिका खोजे ? उनी
जश लिन आतुर हुनुको कारण के हुन सक्छ ? मनमा उब्जिएका यी र
यस्तै प्रश्नहरूका कारण उनी त्यो रातभर सुत्नै सकेनन् । दरबार
हत्याकाण्डपछि राजाका क्रियाकलापको विश्लेषण गरेर कोइराला एउटा निष्कर्षमा पुगे,
‘प्रजातन्त्रको नाम लिएर राजा जनताका अधिकार खोस्ने षड्यन्त्र गर्दै छन् ।’
कोइरालाको दिमागमा राजा भएलगत्तै ज्ञानेन्द्रले दिएको वक्तव्यको एउटा अंश
ठोक्कियो, ‘म मेरा दाजुले जस्तो टुलुटुलु हेरेर बस्ने छैन ।’ कोइरालाले धेरैजसो
राजनीतिक सल्लाह लिनेमध्येका एक पूर्वप्रधानमन्त्री
सूर्यबहादुर थापाले त्यति बेलै उनीसँग भनेका थिए, ‘गिरिजाबाबु तपाईंले
राजालाई वार्ताको विषयमा जानकारी दिएर ठूलो गल्ती गर्नुभयो
।’ नभन्दै साता दिनमै कोइरालाले राजाको सन्देश पाए, ‘माओवादीसँग वार्ता
गर्ने काममा अग्रसरता लिनु आवश्यक छैन ।’
माओवादी समस्या समाधान भयो भने आफ्नो भूमिका रहँदैन भन्ने बुझेर
दरबारले संसद् भंग गरी सबै शक्ति आफूमा केन्द्रित गर्ने
रणनीति बनायो । ‘प्रयोगशाला’ पुस्तकमा सुधीर शर्मा
लेख्छन्, ‘राजाले दोहोरो चाल चले । एकातिर कोइरालालाई माओवादीसँग कुरा
गर्न भने अर्कोतर्फ प्रधानमन्त्री देउवालाई कोइरालाले हटाउन चाहेको
खुलासा गरिदिए । आफ्नो जानकारीबिना पार्टी सभापतिले
दिल्लीमा माओवादीलाई भेटेकोमा सशंकित देउवा राजाको कुरा
सुनेपछि थप आक्रोशित बने । एउटै पार्टीका सभापति र
प्रधानमन्त्री भए पनि एकअर्काबीच पटक्कै विश्वास थिएन
तर उनीहरू राजासँग भने खुलेर सबै कुरा बताउँथे । त्यसैको फाइदा उठाउँदै
राजाले संसद् भंग गराए ।’
साभार -पत्रकार जगत नेपालको आलेख चैत्र ५, २०७३सालमा कान्तिपुरमामा प्रकाशित

No comments:

Post a Comment